बेनी, ३० माघ– जिल्ला प्रशासन कार्यालयमा पोशाकमा एक हुल विद्यार्थी प्रवेश गरे, हातमा एउटा ज्ञापनपत्र लिएर गएका विद्यार्थीले प्रजिअको कार्यकक्षमा पुगेर बालबालिकाको गुनासो प्रधानमन्त्रीसम्म पु¥याउने जिज्ञासा राखे । प्रजिअ उमाकान्त अधिकारीले सजिलै सकिने बताएपछि बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसक्दा असुरक्षित भएको भन्दै ज्ञापनपत्र पढेर सुनाए ।देशका विभिन्न जिल्लामा बलात्कारपछि कलिला विद्यार्थीको हत्या हुन थालेपछि आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको भन्दै सुरक्षाको माग गरेका छन् । बेनीस्थित लिटल गार्डेन एकेडेमीका छात्राले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई हदैसम्मको सजायको माग गदैं प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै निर्मला पन्तको हत्यामा संलग्न जस्तै हरेक किशोरीको बलात्कारपछि हत्याले पलपल असुरक्षित महसुस भएको विद्यालयकी गुणस्तर बृत्त समुहकी संयोजक एलिशा खड्काले बताईन्। ‘आफ्नै ठाउँमा हिड्दा पनि कसैको कुदृष्टि त परेको छैन भनेर भयभीत छौ,‘हाम्रो जिल्लामै विगतका तथ्याङ्क हेर्दा बलात्कारको घटना प्रसस्तै छन्’ उनले भनिन् ।
विद्यार्थीले जहाँ देबीहरू पुजिन्छ,किशोरीहरूलाई सरस्वती, दुर्गा, लक्ष्मीको प्रतिक मानिन्छ, त्यही देशमा ६ महिनाको बालिकाको बलात्कार गरिन्छ’ खड्काले ज्ञापनपत्र पढेर सुनाईन् । निकै भाबुक मुद्रामा देखिएका विद्यार्थीले महिला नै देशको उच्च तहमा पुगेका समाचारले उत्साहित भएपनि बलात्कार, हत्या र बालबालिका माथि हुने हिंसाका घटनाले निराश भएको बताउँदै ज्ञापनपत्र प्रधानमन्त्रीको हातमै पुग्ने गरी पठाइदिन समेत प्रजिअ अधिकारीलाई अनुरोध गरेका थिए । ‘प्रधानमन्त्रीलाई हामीले ७७ वटै जिल्लाका छात्राको सन्देशको रुपमा यो पठाउँदै छौ,‘यस्तै अवस्था आए घरलाई नै विद्यालय बनाउनुपर्न सक्छ’ अर्की एक छात्राले भनिन् । विद्यार्थीले कक्षाको नियमित पढाई छोडेर ज्ञापनपत्र दिन आएको समेत बताएका थिए । तीन वर्ष अगाडी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसक्दा बलात्कारीलाई हौसला मिलेको समेत विद्यार्थीको भनाई छ । प्रजिअ अधिकारीले ज्ञापनपत्रलाई प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । ‘तपाईहरुलाई केही समस्या परे मलाई फोन गर्नुहोला,‘म्याग्दीमा बलात्कारजन्य गतिविधिलाई निर्मुल पार्न हामीले सक्ने प्रयास गछौं’ प्रजिअ अधिकारीले भने ।
महिला अधिकारकर्मीको विरोध
बैतडीकी भट्टको बलात्कारपछि हत्याको विरोधमा म्याग्दीका विभिन्न संघसंस्थाले समेत विरोध कार्यक्रम गरेका छन् । एकपछि अर्को बलात्कारका घटना भइरहेको विरोधमा म्याग्दीमा क्रियाशिल राजनीतिक दल, महिला संघसंस्थाले सदरमुकाम बेनीमा विरोध प्रर्दशन सहित घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । सदरमुकाम बेनीसँगै आसपासका ग्रामिण क्षेत्रबाट समेत आएका महिलाले देशभरी बलात्कारका घटनाले महिलाहरु असुरक्षित भएको बताउँदै सरकारलाई कडा कानुन बनाउन समेत अपिल गरेको महिला संघकी मनकुमारी विकले बताईन् । ‘अब सजायको दायरा फराकिलो बनाउनुपर्छ,‘ मृत्युदण्डको कानुन बलात्कारीका लागि ल्याउनुप¥यो’ उनले भनिन् । विरोधसभामा महिला संघ, नेकपाको अनेमा संघ, विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध महिलाहरूको उपस्थिती रहेको थियो । महिला अधिकारकर्मी ज्योती लामिछानेले बलात्कार र महिला हिंसा बिरुद्ध वृहत् नागरिक आन्दोलनको आवशयकता रहेको बताईन् । बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो ।





