पोखरा, २ फागुन– वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा ‘रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७६’ बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकीको दोस्रो साधारणसभा तथा अधिवेशनको अवसरमा शनिबार शर्मालाई सम्मानित गरिएको हो । पोखराका स्व. रूद्रबहादुर भट्टराई र पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित सो पुरस्कारको राशी ५१ हजार १५१ रुपैयाँ रहेको छ ।
पुरस्कार पहिलोपटक प्रदान गरिएको हो । सो अवसरमा उत्कृष्ट सदस्यको रुपमा रामजी लम्साल पनि पुरस्कृत भए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले उनीहरुलाई सम्मानित गरेका हुन् । कार्यक्रममा बोल्दै सभामुख अधिकारीले संसद विघटनको अधिकार संविधानमा नभएको बताए । ‘संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन’, उनले भने, ‘राजनीतिक वा अन्य केही अधिकार कति छ भन्ने अर्कै कुरा भयो ।’ नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई प्रयोग गर्ने वा तर्साउने काम नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे । संसद विघटन असंवैधानिक कदम भएकोमा महासंघ प्रष्ट रहेको उनको भनाई थियो । नेपाल पत्रकामर महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





