बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा बहुउपयोगी सतुवाको ब्यवसायीक खेती

म्याग्दीमा बहुउपयोगी सतुवाको ब्यवसायीक खेती


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७७, आइतबार

बेनी, २ फागुन– बेनी नगरपालिका–९ का एक कृषकले सतुवाको बिरुवा विक्रीबाट बार्षिक मनग्य आम्दानी गर्ने गरेका छन् । तोरीपानीका सागर बानियाँले तीनबर्ष अगाडी इलामबाट १ लाख ११ हजारको एक केजी बिउ लिएर सुरु गरेको परीक्षण उत्पादन सफल भएपछि व्यवासायिक सतुवा खेतीमा लागेका हुन् । टनेलमा सतुवाको नर्सरी बनाएर गतबर्ष करिब १५ लाख बराबरको बिरुवा बिक्री गरेका बानियाँले गतबर्ष डिभिजन बन कार्यालय म्याग्दीलाई ५० हजार र विभिन्न जिल्लामा बिरुवा बिक्री गरेको बानियाँले बताए ।‘राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ लागेको छु,‘यसबर्ष रसुवाबाट अर्डर आएको छ’ बानियाँले भने । निजी र सामुदायिक संस्थामार्फत सतुवा खेतीका लागि बिरुवा माग्ने गरेको बानियाँको भनाई छ । समुन्द्री सतहदेखि १५ सय मिटर माथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक बानियाँको भनाई छ।
बानियाँ जिल्लामा सतुवाको ब्यवसायीक बिरुवा उत्पादन गर्ने नर्सरी एउटा मात्रै छ र बानियाँ पहिलो कृषक हुन् । बनजंगलमा संकलन गरी बिक्री गर्ने गरेको अवस्थामा बानियाँले घरमै नर्सरीमा बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेहरुको घुँइचो लाग्न थालेको छ। कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर ३ रोपनी जमिनमा बिरुवा समेत लगाएका छन् । उनले पहिलोबर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाएका थिए ।‘इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके,‘सीप भए सतुवाबाट राम्रो कमाई हुने रहेछ’बानियाँले भने । उनले समुहमा आउनेलाई ३५ र ब्यक्तिगत रुपमा आउनेलाई प्रति बिरुवा ५० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । अनुकुल हावापानी हुने र बाँझो जमिनमा सतुवा खेती गर्ने गरिएको छ ।
उनका अनुसार बजारमा सतुवाको माग र मूल्य टिमुरको जस्तै उच्च छ । बानियाँले सतुवाको खेती गर्नुअघि रसुवा, संखुवासभा र इलाम पुगेर सतुवा खेती कृषि फर्ममा स्थलगत अवलोकन तथा आवश्यक तालिम लिइसकेका छन् । सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ। बनजंगलमा पाइने सतुवाको आधुनिक खेतीलाई समुदायमा एकल वा सामुहिक रुपमा करिब १० रोपनी जमिनमा अब छिट्टै खेती गर्ने योजना रहेको कृषक बानियाँले बताए । बानियाँले आफ्नो सीपलाई समुदायमा र आवश्यकता परेमा जिल्लाभर सिकाउने बताए । यसैबीच जिल्लामा नमुना टिमुर कृषकको रुपमा चिनिएका बानियाँको दुईवटा टनेलमा ४० हजार टिमुरको बिरुवा छन् । उनले हरेकबर्ष ६ लाखभन्दा धेरै टिमुरको बिरुवा र टिमुर विक्री गर्ने गरेका छन् । एकबर्षमै ४० पाथी टिमुर घरबाटै बेच्ने गरेका बानियाँको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने गरेको छ । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आर्युवेदीक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि टिमुरको बजार एशियाली र यूरोपेली मुलुकमा समेत अत्याधिक माग रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->