पोखरा, ४ फागुन– कार्यकाल २ वर्ष बाँकी रहँदा गण्डकी प्रदेश सरकारले सूचना प्रविधि पार्क बनाउने महत्वकांक्षी योजना बनाएको छ ।
नेपालको बनेपामा एउटै मात्र आइटी पार्क रहेको बेला प्रदेश सरकार पोखरा–१८ ग्यारजातिमा ‘आइटी पार्क’को रुपरेखा तयार पार्न जुटेको हो । ‘ग्यारजातिमा आइटी पार्क बनाउनको लागि ितयारी थालिएको छ’, गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्माले भने,‘ त्यहाँ ९७ रोपनी जग्गा छ,पार्कको लागि त्यो ठाउँ सुहाउँदो छ ।’
पार्कको पूर्वाधारसँगै उच्च क्षमताको इण्टनेटको व्यवस्थाको जिम्मा प्रदेश सरकारले लिने र त्यहाँ राष्ट्रिय र अन्तर्र्राष्ट्रिय सूचना प्रविधिका कार्यालयहरु राखिने उनले सुनाए । अमेरिकाको प्रसिद्ध कम्पनी माइक्रोसफ्टमा काम गर्ने नेपाली आइटी विज्ञले यो परियोजनालाई सघाउने वचन दिएको पनि उनले सुनाए । ‘अमेरिकामा रहेका नेपालीहरुले त्यो पार्कमा एप्पल, माइक्रोसफ्ट, गुगलजस्ता कम्पनी पनि ल्याउने योजना छ’, उनले भने,‘गण्डकी विश्वविद्यालयको आइटी सेक्टरका विद्यार्थीलाई त्यहीँ प्राक्टिकल गराउने हाम्रो योजना हो ।’ आइटी पार्कले रोजगारी सृजना गर्ने पनि उनले बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अमेरिका जाँदा देखेको यो सपना पूरा भए गण्डकी अन्य प्रदेशभन्दा यसै अब्बल हुने पनि उनले जिकिर गरे ।





