बागलुङ, १० फागुन– विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको डिजाईन स्टमेट नमिलेपछि निर्माण सम्पन्न हुनेबेला यहाँको एक खोलामा पक्कि पुल निर्माणको काम सुरु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माणको काम शुरु भएको हो । पुल निर्माणको जिम्मेबारी पाएको कम्पनीले निर्माण सामग्री बोकेर खोला किनारमा पुगेको नौ महिनापछि मात्रै निर्माणको काम थाल्न पाएको हो ।
पोखरेबगरदेखि नेपानेहुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा पुल निर्माणको योजना थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण शुरु भएको जनाएको छ । तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखराले दुई करोड ८१ लाख ७८ हजार ६४६ मा ठेक्का लिएको थियो । २०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
सम्बन्धि कार्यालय र कन्सल्टेन्टको लार्पवाहीले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको झण्डै एक वर्षपछि पुल निर्माण शुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । डिपिआर र पुल निर्माण गर्ने ठाउँको भूगोल र दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए ।
‘मजदुर र निर्माण सामग्री खोला किनारमा पु¥याएको ९ महिनापछि बल्ल काम गर्ने गरि स्टमेट आयो’ आचार्यले भने ‘थुपारिएको गिट्टी बालुवा पानीले बगायो, निर्माण सामग्री थन्किएकाले लाखौंको घाटा व्यहोर्नु परेको छ ।’
स्टमेटमा समस्या देखिएपछि आयोजना कार्यान्वयन इकाईले केन्द्रिय आयोजनामा खबर गरेको थियो । ‘कन्सल्टेण्टका कारण समस्या आयो, तालुक कार्यालयले पुनः स्टमेट गरेपछि काम थालिएको हो’ आयोजना कार्यान्वयन इकाई म्याग्दीका सव–इञ्जीनियर डवल तामाङले भने ‘निर्माण व्यवसायीले समय थप पाउनुहुन्छ, पुलको काम धमाधम हुन्छ ।’
पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा सम्बन्धित कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्वार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ ।
भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताए ।





