पोखरा, ११ फागुन– पोखराको जिरो किलोमिटरमा सोमबार विवेकशील साझा पार्टीका युवाहरुले आयोजना गरेको सांकेतिक शवयात्रामा प्रहरी हस्तक्षेप भएको छ । सोमबार हरेराम, हरेकृष्ण लेखिएको पहेंलो बस्त्र ओढेका युवाहरुले जमिनबाट शव उठाएर काँध हाल्नासाथ प्रहरीले उनीहरुलाई हस्तक्षेप भएको हो ।
त्यो शवमा उनीहरुले संसदको हत्या भयो, लोकतन्त्रको हत्या भयो, दुई तिहाइको सरकारको हत्या भयो, जनताका आशा र भरोसाको हत्या भयोजस्ता नारा लेखिएको पम्प्लेट टाँसिएका थिए । प्रहरीले शब बोक्न नदिने भनेपछि पार्टीका गण्डकी प्रदेश सदस्य अशोक खड्काले आफूहरु शान्तिपूर्ण कार्यक्रम गर्न लागेको भन्दै हस्तक्षेप नगर्न प्रहरीलाई आग्रह गरे ।
‘हामी प्रधानमन्त्री मुर्दावाद भन्दैनौं, शान्तिपूर्ण रुपमा शवयात्रा गर्न दिनुस’्, खड्काले प्रहरीलाई भने, ‘हामी यहाँबाट पृथ्वीचोक पुगेर कोण सभा गरेर समापन गर्छौ, यो शव जलाउँदैनौं ।’ तर, प्रहरी मान्दै मानेन । युवाहरुले शव उठाएर काँधमा राख्ने वित्तिकै प्रहरीले शव खोसे । ‘माथिको आदेश छ, यो लैजान पाइदैन’, प्रहरीले आन्दोलनकारीलाई भने ।
शव खोस्न खोज्दा प्रहरीले युवाहरुलाई धकेले, लछारपछार पारे । जसरी पनि शव खोसेर लगेपछि युवाहरु प्रहरीले जबर्जस्ती जबरजस्ती गरेको भन्दै आक्रोशित बने । उनीहरुको पूर्वनिर्धारित कार्यक्रम गर्न नदिएपछिे प्रधानमन्त्री केपी ओलीकाविरुद्ध नाराबाजी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकाविरुद्ध विवेकशील साझा पार्टीले विगत ७ दिनदेखि पोखरामा लगातार प्रदर्शन गर्दै आएको छ ।
पार्टीको शान्तिपूर्ण अभियान माथि प्रहरीले दमन गरेको भन्दै विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले भत्र्सना गरे । आवागमन रोकेर केपी बा, आइ लभ यु भन्नेलाई सुरक्षा दिने प्रहरीले आवागमन र पैदलयात्रा पनि नरोकी गरिएको शान्तिपूर्ण जुलुसलाई हस्तक्षेप गरेको उनले बताए ।
‘सरकार लाससँग पनि डरायो, त्यही पनि सांकेतिक लाससँग, भण्डारीले भने, ‘सांकेतिक शवयात्रा भनेको नाटक हो, सरकार नाटक बुझ्दैन, यो निन्दा गर्न लायक छ ।’





