बेनी , १४ फागुन– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुस्ताङका जिल्ला इन्चार्ज पदम पुन (फिल्टर)लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी ६० वर्षीय पुनलाई राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘मुस्ताङ कार्यक्षेत्र भएपनि लामो समयदेखि म्याग्दीमै भएकाले खोजीकार्य तिब्र बनाइएको थियो,‘अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाउँछौ’ प्रनाउ राईले भने।
तत्कालिन नेकपा माओवादीको जनयूद्ध, शान्ति प्रक्रियामा आएपछि माओवादी विभाजनसँगै विप्लवमा लागेका फिल्टर बसेको स्थानको सुराकी पाएपछि प्रहरीको टोली पुगेको थियो । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा समेत रहेका पुनलाई आफ्नै गाउँ आसपासमा सुरक्षित हुन सकिने भएकाले त्यही सक्रिय थिए । उनलाई एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।फिल्टरको पक्राउ बारेमा हालसम्म नेकापले कुनै प्रतिक्रिया दिएको छैन् । सरकारले नेकपालाई प्रतिवन्ध लगाएपछि म्याग्दीका नेताकार्यकर्ता भूमिगत छन् ।





