पोखरा, १७ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र देश बाहिरबाट अहिलेको सरकारमाथी निरन्तर हमला भैरहेको बताएका छन् । प्रचण्ड–माधव पक्षले विधि र पद्धतिको कुरा गरेर अरुको लागि ‘कम्फर्टेबल’ सरकार बनाउनतिर लाग्नु बाहिरी शक्तिको हमला भएको उनको तर्क थियो ।
गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘देशभित्र र देश बाहिरबाट निरन्तर हमला भइरह्यो । हामीले स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित गर्न चाहान्छौँ। त्यसै कारणले अहिलेको संघर्ष भइरहेको छ । देशको हित विपरित कुनै काम गर्दैनौँ । देशको रक्षा गछौँ ।’
केही व्यक्तिगत स्वार्थको कारणले देश संकटतर्फ धकेल्न खोजेको आरोप लगाए । ‘हामी हरेक परिस्थितीको सामना गछौँ । हामीले लडेर ल्याएको उपलब्धि रक्षा गर्नका लागि लडिराख्छौँ’ उनले भने, ‘अहिले आपराधिक मानसिकताको विरुद्ध लडिरहेका छौँ । उहाँहरु जालझेल र तिकडममा लागि राख्नुभएको छ ।’
उनले आफूहरुले सही बाटो लिएको हुनाले पछि नहट्ने तर्क गरे । प्रचण्डले आफूविरुद्ध १९ पृष्ठको आरोपपत्र ल्याउनुको कुनै अर्थ नभएको उनको दाबी छ ।
‘पार्टी ठीक ढंगले अघि बढेको छ, बढ्छ’ उनले भने, ‘केन्द्रीय कमिटीमा बहुमतको कुरा गरिराख्नुभएको छ। त्यो कुनै निर्वाचित भएर आएको कमिटी होइन । मैले नै पार्टी एकता गर्दा ल्याएर राखेको हुँ ।’
पार्टी कब्जा गरेर कम्फर्टेबल सरकार बनाइदिनेतिर लागिरहेको उनले आरोप लगाए । ‘यो देश र जनतालाई सेवा गर्ने सरकार होइन । कसैका लागि कम्फर्टेबल सरकार बनाउने योजना पो रहेछ’ उनले भने, ‘जुन हातले नाम राख्यो । हटाउन पनि सक्छ । देव गुरुङलाई प्रमुख सचेतक बनाएको थिए । हटाइदिएँ मैले बनाएको नै हो ।’
अहिलेसम्म पार्टीभित्र उहाँहरुको पद नचलाएको उनले बताए । ‘उहाँहरु आफै अध्यक्ष, दलको नेता हुनुभयो’ उनले भने, ‘आफै लड्डु पनि खानुभयो ।’
बैठक बोलाएको ठाउँमा नभएर सडकमा निस्किएर विधि पद्धतिको कुरा गरेको नसुहाउने उनले बताए । ‘कार्की बैँक्वैटमा गएर भोज खान आएको मान्छेलाई गनेर बहुमतको कुरा हुन्छ’ उनले भने, ‘उहाँहरुको बहुमत कहाँ काम लाग्यो ?’
प्रचण्ड–माधव पक्ष प्रधानमन्त्री खोज्ने दौडमा लागेको उनले सुनाए। उनले उहाँहरुले विधि र पद्धतिमा आएर डेढ बर्ष प्रतिपक्षमा बसेर त्यसपछिको निर्वाचनमा दुई तिहाई ल्याउन सक्ने दाबी गरे ।
‘संसदभित्र संसदीय अभ्यासबाट नभएर गल्त्याएर निकाल्ने कुरा गर्दै हिँड्नुभएको छ। बरु प्रधानमन्त्रीसँग कुर्सी खेलाउने, जसले जित्छ। त्यही प्रधानमन्त्री हुन्छ भन्तेतिर लाग्नुभएको भए पनि हुन्थ्यो नी’ उनले भने ।
निर्वाचन भएको भए देशले फड्को मारिसक्ने बताउँदै देश पुनः अन्यौलतातर्क धकेलिएको उनको तर्क छ। अदालतको निर्णय मानेर सरकारले संसद बैठक समेत आह्वान गरिसकेको उनले सुनाए ।





