काठमाडौं, १८ फागुन-सरकारले वार्ता टोली गठन गरे लगत्तै नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले समेत सरकारसँग वार्ताका लागि टोली गठन गरेको छ । विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । वार्ता टोली उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।
‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छु, विप्लवले विज्ञप्तिमा भनेका छन्, पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क.प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क.दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं ।
यस अगाडी मंगलवार नै सरकारले पनि विप्लवसंग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई सदस्य रहनेगरी २ सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल सरकारले वार्ता टोली बनाइसकेपछि विप्लव समूहले पनि वार्ता टोली गठन गर्नै र त्यसपछि छिटोभन्दा छिटो वार्ता हुने विश्वास व्यक्त गरेका थिए । उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउने काममा सरकार रहेको स्पष्ट पारे।
वार्तामार्फत सबै टुंग्याउने बताउँदै गुरुङले भने, ‘कसरी जाने, के गर्ने उहाँप्रति लागेको मुद्दा होस्। उहाँको हतियारको कुरा होस्। यी सबैलाई टुंगो गर्नका निम्ति, अन्तिम प्रक्रियामा पुर्याउनका निम्ति वार्ता टोली गठन गरिएको हो। वार्ताभन्दा अघि नै सबै कुरा हल गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ।’
अव सरकार र बिप्लव माओवादीविच वार्ता हुुने निश्चित भएको छ । दुवै पक्षले वार्ता टोली बनाएपछि एकअर्काविच विश्वासको वातावरण बनेको समबन्धित पक्षको भनाई छ ।





