पोखरा, १९ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल राजनीतिक रुपमा स्पष्ट विभाजित छ । पार्टी विभाजनको बाटोमा गइसकेपछि नेकपाका विभाजित समूहले आफूइतरका पक्षधरलाई हटाउँदै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउँदैछन् ।
अघिल्लो पटक तत्कालीन नेकपा एमाले र माओवादी एकता गर्दा ६०/४० को नेतृत्व बाँडफाँड गरेका थिए । तर, पार्टी विभाजनपछि तत्कालीन माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र एमालेका माधवकुमार नेपाल एक खेमामा बाँडिएका छन् ।
उनीहरुले पार्टीलाई नयाँ ढंगबाट एकता गर्ने भन्दै ५०/५० प्रतिशतको पद बाँडफाँड गर्ने निर्णय गरिसकेका छन् । सोही निर्णय बमोजिम प्रचण्ड–माधव पक्षीय नेकपाले पहिलो चरणमामा फागुन ७ गते ६८ जिल्लाको चयन गरिसकेको छ । बाँकी ९ वटा जिल्लामा नेतृत्व छान्नै बाँकी छ ।
माघ १ र २ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले ओली पक्षबाट रिक्त भएका पदमा नयाँ नेतृत्व चयन गर्न पार्टी सचिवालयलाई जिम्मेवारी सुम्पेको थियो । सोही निर्णय बमोजिम फागुन ७ मा प्रचण्ड–माधव समूहले नयाँ नेतृत्व चयन गरेको हो ।
प्रचण्ड–माधव समूहले बाँकी रहेको ठाउँमा सर्वोच्चको फैसलापछिमात्रै नेतृत्व छान्ने बताउँदै आएको थियो । तर, फागुन १२ मा अदालतले संसद पुनःस्थापना गरिसकेपछि पनि उक्त समूहले नयाँ नेतृत्व छान्ने प्रक्रिया अघि बढाएको छैन ।
कसले पाउला कास्कीको नेतृत्व ?
संसद विघटन निर्णयविरुद्ध उभिएको सत्तारुढ दलकै प्रचण्ड–माधव पक्षले आफूइतरको ओली पक्षलाई हटाउँदै नयाँ नेतृत्व चयन सुरु गरेको छ । ओलीपक्षलाई हटाएर रिक्त बनेको विभिन्न जिल्लागत तहमा उक्त पक्षले फागुन ७ मा नयाँ नेतृत्व चयनसमेत ग¥यो ।
तर, ओली पक्षीय अध्यक्षलाई हटाएर रिक्त बनेको कास्कीमा भने नयाँ नेतृत्व चयन हुन सकेन । अन्य जिल्लामा नयाँ नेतृत्व पाइसक्दा भने कास्कीमा माधव–प्रचण्ड पक्षलाई नेतृत्व छान्न सकस पर्ने देखिन्छ ।
कास्कीका जिल्ला तत्कालीन एमाले र एमालेभित्र पनि केपी ओलीको राम्रो प्रभाव रहेको ठाउँ मानिन्छ । कास्कीका जिल्लादेखि स्थानीय तहसम्म तत्कालीन एमालेको प्रभाव छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म प्रतिनिधित्व गर्ने ओली पक्षको एकछत्र ‘दबदबा’ भएपछि कास्कीमा नयाँ नेतृत्व चुन्न चुनौति छ ।
तत्कालीन समयमा पूर्वएमाले र माओवादीले एकता गरी समायोजन गर्दा कास्कीमा नेकपा अध्यक्षमा तत्कालीन एमालेका कृष्ण थापा र सचिवमा नेकपा माओवादीबाट बखानसिंह गुरुङ चयन भएका थिए । अहिले गण्डकी प्रदेश सांसदसमेत रहेका पार्टी अध्यक्ष कृष्ण थापा ओली पक्षमा उभिएसँगै अध्यक्ष पद खाली छ । अध्यक्ष ओली समूहमा लागेपछि अहिले जिल्लाको नयाँ अध्यक्ष को बन्ने भन्ने विषयमा माधव–प्रचण्ड पक्षीय नेकपाको चासोको विषय छ । दाहाल–नेपाल पक्षीय नेकपाको कास्की जिल्ला अध्यक्षमा अहिले जिल्ला सचिव नै रहेका बखानसिंह गुरुङ, प्रदेश सांसद रामजी बराल, तत्कालीन एमालेका नेता धनराज आचार्य, लीलाधर पौडेलको चर्चा छ । पौडेल तत्कालीन एमालेका पुराना नेता हुन् ।
पार्टीको नयाँ सहमति अनुसार कास्कीको जिल्ला नेतृत्व तत्कालीन एमालेले पाउनुपर्ने हुन्छ । तर, जिल्ला अध्यक्षमा तत्कालीन माओवादीले अध्यक्ष पद नछाड्ने संकेत गरेको छ । हाल जिल्ला सचिव रहेका साविक माओवादीका जिल्ला अध्यक्ष बखानसिंह गुरुङ आफू नै अध्यक्ष हुने ‘सुल्टो तरिका’ बताएका छन् ।
‘कास्कीबारे केन्द्रीय कमिटीले कुनै निर्णय गरेको छैन । त्यसको आधिकारिक निर्णय आइसक्या छैन । तर, यहाँको यहाँको सापेक्षतामा त अहिले भइराखेको सचिव नै अध्यक्ष हुने होला !’, गुरुङले भने, ‘हिजो पार्टी एकता हुँदा एउटा अध्यक्ष जिल्ला अध्यक्ष र अर्को सचिव भएका हुन् । जिल्ला अध्यक्ष प्रतिगमनको पक्षमा लागेपछि अर्कोले सम्हालिराखेको खण्डमा उही हुने होला ! यही होला सुल्टो तरिका !’
पार्टी अध्यक्ष ओली पक्षमा लागेपछि जिल्लाको नेतृत्व सहमति बमोजिम साविक एमालेले नै पाउने साविक एमालेको आफ्नै दाबी छ । साविक एमाले नेता धनराज आचार्यले जुन ठाउँमा जुन पक्ष खाली रहेको हो, त्यही पक्षले नै पद पाउनुपर्ने सहमति अनुसार तत्कालीन एमालेले पाउने दाबी गरे । उनले भने, ‘कास्की पुरानो एमालेको हो । सम्भवतः एमालेले नै पाउँछ ।’
अध्यक्षका दाबेदारका रुपमा उभिएका तत्कालीन एमालेका नेता धनराज आचार्य स्वर्गीय रवीन्द्र अधिकारीका सहपाठी र रवीन्द्र अधिकारी प्रतिष्ठानका महासचिवसमेत हुन् । अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि रिक्त बनेको कास्की २ को प्रतिनिधिसभा चुनावमा उनकै पत्नी विद्यादेवीलाई नेकपाले चुनावमा उठाएको थियो । उक्त चुनावको चुनावी कमान्डरको रुपमासमेत आचार्यले काम गरिसकेका छन् ।
नयाँ सहमति अनुसार ५०÷५० प्रतिशत पद बाँडफाँड भनिएकाले सोअनुसार पदमा थपघट हुन पनि सक्ने भने आचार्यको संकेत छ । ‘अधिवेशनको बेला भए केही भन्न सकिन्थ्यो । तर, अहिले अप्ठेरोबेला छ । यस्तोबेला दाबी गर्ने समय होइन,’ आचार्यले भने, ‘पार्टीले जे निर्णय र जिम्मेवारी दिन्छ त्यही स्वीकार्ने हो ।’ प्रचण्ड–माधव पक्षीय नेकपाले कास्कीमात्रै नभई पोखरा महानगरसमेत नेतृत्व छान्न सकेको छैन । गण्डकीका ११ जिल्लामध्ये ६ वटा जिल्लामामात्रै नेकपाले नेतृत्व छानेको छ । प्रचण्ड–माधव पक्षले गण्डकीमा गोरखा, लमजुङ, नवलपरासी पूर्व, बागलुङ, पर्वत र म्याग्दीमामात्रै नयाँ नेतृत्व चयन गरेको छ ।





