
काठमाडौं, २० फागुन – सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले जानकारी दिए । मन्त्री ठगुन्नाले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
यसैविच, सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई रिहाइ गर्न सर्कुलर जारी गरेको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा प्रक्रिया पुर्याएर छाड्न आजै निर्देशन दिइसकेको गृह मन्त्रालया प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । अन्यको हकमा पनि सहजीकरण भइरहेको उनको भनाइ छ । प्रहरीका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागे यता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।





