
नवलपुर, २१ फागुन – सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) शुक्रवार विहान पूर्वी नवलपरासीबाट काठमाडौं हिडेका छन् । आफ्नै स्कारपियो गाडीमा शुक्रवार विहान ३ बजे देवचुली आएपुगेका उनी आफ्नै कार्यकर्ताको घरमा केहीवेर आराम गरी विहान काठमाडौं हिडेका हुुन् । ‘केहीवेर आराम गरेर काठमाडौं लाग्नु भएको छ,’ उनका एक कार्यकर्ताले ढोरपाटनलाई भने, ‘यहाँसम्म् आफ्नै गाडीमा आउनु भएको हो ।’
महासचिव विप्लवसंगै पार्टीका लुुम्बिनी ब्यूरो इन्चार्ज बाला थापा र उनका सुरक्षाकर्मी रहेका छन् । उनी विहान साढे ७ बजे देवचुलीबाट काठमाडौं हिडेका हुन् । महासचिव विप्लव देवचुलीमा माओवादी जनयुद्धका पहिलो शहिद फुलमाया सारुको घरमा वसेका थिए । त्यहाँ उनले आलु वन्दाको तरकारी र सुख्खा रोटी खाएका थिए ।
देवचुलीमा उनले शहिद परिवारसंग पनि भेटघाट गरेका थिए । देवचुलीमा कार्यकर्ताले शुक्रवार विहान उनलाई टीका लगाएर विदाई गरे । अहिले उनी प्रहरीको स्कटीङमा काठमाडौं जादैछन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेर उनी गाडीमा नै काठमाडौ जादैछन् । 
गाडीबाट दिउसो १२ बजेसम्म बिप्लव काठमाडौं पुग्ने कार्यक्रम छ । दिउँसो २ बजे प्रधानमन्त्री केपी ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चमा सम्बोधन गर्ने कार्यक्रम छ ।





