बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

…त्यसपछि पदममायाको आँसु बर्सियो

…त्यसपछि पदममायाको आँसु बर्सियो

एकल महिलालाई रातो टीका र पछ्यौरा !


  • विनोद ढुंगाना
  • फाल्गुन २५ २०७७, मंगलबार

तनहुँ, २५ फागुन– २६ वर्षको उमेरमा पदममाया थापाले पति वियोगको पिडा सहनुप¥यो । काखमा ५ वर्षकी छोरी, कोखमा ५ महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि सहनुप¥यो ।
थापाले बडो संघर्षले छोराछोरी हुर्काइन्, बढाइन् र पढाइन् । अहिले तिनै छोराछोरी पदममायाको सहारा पनि बनेका छन् ।
श्रीमान्को मृत्युपछि उनको सिन्दुर पुछियो, पहिरन फेरियो । श्रीमानको मृत्युको २३ वर्षपछि बल्ल पदममायाले सोमबार निधारमा रातो टीका लगाइन् । रातो पछ्यौरी उनको शिरमा देखियो । म्याग्दे–३ साउनेपानीकी उनले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर टिका र पछ्यौरी पहिरिएकी हुन् ।
गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टिका र पछ्यौरी ओडाएर अंगालोमा बेरिन । त्यसपछि पदममायाको आँखाबाट आँसु बर्बरी खसे । उनीसँगै अध्यक्ष राना पनि भावुक बनिन् ।
एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको बताइन् । ‘मुखले नारी पुरुष बराबरी भनेपनि पुरुष प्रधान देशमा नारीहरु अपहेलित भको अवस्था छ,’ सुक्सुकाउँदै उनले भनिन्, ‘त्यसैले पनि आज रातो टीका ग्रहण गरे । किनभने रातो टिका नलाएर हामी विधुवाको रुपमा हिँड्दाखेरी हाम्रो घाउ २५ औं वर्षसम्म पनि आलो नै रहेको छ ।’ एकल महिलालाई समाजले थिच्ने गरेको उनले सुनाइन् ।
विहे गरेको ४ वर्षमा धयेरेकी अञ्जु आलेले श्रीमान् गुमाइन् । भर्खर कलकलाउदो उमेरमा श्रीमान्को मृत्युपछि उनको पहिरन फिक्का बन्यो । रातो लगाउन मन भएपनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अन्जुले २८ महिनामा सोमबार रातो पहिरिइन् । ‘चाहेर एकल भएको होइन भाग्यले ठगेको हो । तर, सदा सादा भएर हिँड्न भएन् । रंगिन भएर हिँड्ने हामीलाई पनि मन हुन्छ,’ उनले भनिन् ।
धुम्म परेको मौसम । आकाशमा बादल मडारिँदा छिटफुट बर्षा भइरहेको थियो । म्याग्दे गाउँपालिका– ४ थर्पु बजार पृथ्वीराजमार्गको दायाँपट्टी ठेलमठेल महिला थिए । तीमध्ये धेरैको सिउँदोमा सिन्दुर थिएन् । फिक्का लाग्ने पहीरनमा सजिएका । अधबैंसेदेखि सेतै कपाल फुलेका आमाहरुको भिड थियो ।
कार्यक्रममै धनमाया लामाले करिब ८ वर्षपछि रातो टीका लगाइन् । ३९ वर्षीय उनले आफूमात्रै नभएर जवानीमै एकल महिला बन्न बाध्य भएकालाई बाधा, अड्चन फुकाउन सुरुआत गरेको बताइन् ।
माइकबाट रातो टीका र पछ्यौरीका लागि नाम उद्घोष भएसँगै एकल महिला गाउँपालिका अध्यक्ष मायादेवी रानाको हातको रातो टिका र पछ्यौराको सम्मान थाप्थे । केहीले बर्बरी आँसु खसाल्थे । आफुलाई सम्हाल्न नसकेर अध्यक्ष रानाले पनि सम्मान गर्दै ग्वाम्म अंगालो हाल्थिन् । घरीघरी पछ्यौरीको बर्कोले आँसु पुछ्थिन् । यो क्रम केही घण्टा चलिरह्यो । एक सय २७ जनाले गाउँपालिकाको रातो टिका–रातो पछ्यौरा सम्मान ग्रहण गरे ।
कार्यक्रमको सुरुमै गाउँपालिका अध्यक्ष रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरिन् । उनको साइली जेठानी सुकमाया राना र काइली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओडाइदिए । अध्यक्ष रानाले ४ बर्ष अगाडी मात्रै श्रीमान् गुमाएकी हुन् ।
हिन्दु परम्परा अनुसार श्रीमान् गुमाएपछि रातो टिका र पहिरन नै लगाउन हुदैन् भन्ने सामाजिक मान्यता छ । समाजलाई चिर्न कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष रानाले बताइन् । उनले आफुले गरेको कार्यक्रमको तारिफसँगै आलोचना हुने उल्लेख गरिन् ।
‘धेरैले आजको यो हाम्रो कामलाई सकारात्मक ढंगले लिएका छन् । केहीले उल्का भई भन्लान् । तर, ती नकरात्मक कुरालाई नै ऊर्जामा रुपान्तरण गर्छु । त्यस्को कुनै प्रवाहा छैन्,’ गाउँपालिका अध्यक्ष रानाले भनिन् । आफूले एकल महिलालाई आत्मनिर्भर बनाउने थप कार्यक्रम सञ्चालन गर्ने योजना पनि सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->