पोखरा, २७ फागुन – पोखरा महानगरपालिकाले पाँचौं स्थापना दिवस मनाएको छ । मंगलवार प्रभातफेरीसहित पोखरा सभागृहमा महानगरले स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा महानगरले लामो समय सेवा गरेका १३ कर्मचारीलाई दीर्घसेवा सम्मानबाट सम्मान ग¥यो । दीर्घसेवा सम्मानबाट गंगाबहादुर गुरुङ, पार्वती क्षेत्री आचार्य, श्रीकान्त तिमिल्सिना, वसन्त पौडेल, पदमा कोइराला, भोलानाथ अधिकारी, स्व. धनवहादुर गायककी श्रीमती श्रीकला गायक, चित्रकुमारी घर्ती, कृष्णबहादुर खत्री, रमेशप्रसाद पराजुली, बेलकुमारी गायक, सन्तबहादुर क्षेत्री र शारदा शर्मा तिमिल्सिनालाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएका भलिबल, फुटबल र ब्याडमिन्टन प्रतियोगिताका विजेता कर्मचारी र जनप्रतिनिधिलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले पुरस्कार वितरण समेत गरेका थिए । २०७३ साल फागुन २७ गते उपमहागनरपालिकाबाट पोखरा महानगरपालिका घोषणा भएको थियो । २७ गते शिवरात्रीमा सार्वजनीक बिदा भएकाले महागनरले बुधबार स्थापना दिवस मनाएको हो । महानगरले उत्कृष्ट ४ कर दातालाई समेत पुरस्कृत गरेको छ । पोखरा ग्राण्ड प्रालि, नेपाल टेलिकम, भाटभटेनी र कृषि विकास बैंकलाई उत्कृष्ट करदाता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
आसेपासे कर्मचारीलाईमात्र सेवा सुविधा
पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाइरहँदा केही कर्मचारीहरुले आफूहरुमाथि भेदभाव भएको गुनासो गरेका छन् । उनीहरुले पोखरा महानगरले आसेपासे कर्मचारीलाईमात्र सेवा सुविधा दिएको जिकिर गरे । स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष इन्जिनियर अमिर भण्डारीले कर्मचारी बीच नै भेदभावहुँदा योग्य कर्मचारीसमेत अयोग्य देखिएको बताए । उनले कर्मचारी समायोजनमा महानगरले ध्यान दिनुपर्ने बताए । ‘हाम्रो शैक्षिक योग्यता र स्तर एउटै छ । तर पनि हामीलाई विभेद गरियो महानगरको नजिर बस्यो’, उनले भने । यस्तै अर्का कर्मचारी शिवप्रसाद बरालले नगर पञ्चायत हुँदै महानगरसम्म आइपुग्दा समेत सर्मचारीको पीडा नबुझेको बताए । ‘यहाँ ज्यालादरी, स्थायी र अस्थायीलाई निकै पीडा छ’,उनले भने ।
पार्टीको झगडा सकियो देश अस्थिरतामा गयो : मुख्य मन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोच्चको फैसलाले पार्टीभित्रको झगडा अन्त्य भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले पार्टी एकता हुँदा एमालेको बलात्कार भएको बताउँदै सर्वोच्चको फैसलाले देश अस्थिरतातर्फ पुगेको बताए । पोखरा महानगरपालिकाको पाँचांै स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले संसद् विघटन वदर गर्दा नै देश अस्थिरतामा गएको जिकिर गरेका हुन् ।
‘पार्टी एकता गर्दा एमालेको लोकतान्त्रिक भर्जिनिटी बलात्कृत भएको थियो’,उनले भने,‘सर्वोच्चले ओलीको जन्मोत्सवमा ओलीलाई सरप्राइज दिएझैँ माधवकुमार नेपालको जन्मदिनमा पनि अर्को सरप्राइज दिएको छ ।’ उनले तत्कालीन एमाले र माओवादीले बल मिचेर ऋषि कट्टेलमाथि अन्याय गरेको र त्यस्तो काम ठीक नहुने रहेछ भन्ने प्रमाणित भएको पनि बताए ।
‘झण्डै २ तिहाइको बहुमत भएको पार्टीले राइँदाइँ गरेर अर्काको दर्ता भइरहेको पार्टी हुँदाहुँदै नेकपा बनाउने कुरा बेठीक हो, यो कानूनसम्मत भएन भनेर मुद्दा हराएको निर्वाचन आयोगलाई हो’,उनले भने,‘ माधव नेपाल, झलनाथ, प्रचण्डलाई हराएको र केपी ओलीलाई जिताएको होइन ।’
मुख्यमन्त्री गुरुङले सर्वोच्चको फैसलापछि देशमा नयाँ राजनिति सुरु भएको धारणा राखे । उनले सर्वोच्चले विघटन वदर गर्दा निकै दुःख लागेपनि दोस्रो फैसलाले बलात्कृत एमालेले न्याय पाएको बताए । ‘बलात्कृत भएको एमालेले फेरि आफ्नो अस्तित्व पाएको छ’,मुख्यमन्त्री गुरुङले भने,‘ सर्वोच्चको फैसलाले एमालेलाई बलियो बनाएको छ ।’मुख्यमन्त्री गुरुङले संसदमा पुनः एमालेले नयाँ कोणबाट राजनीति सुरु गर्ने बताए । उनले सरकार बनाउने विकल्पको ढोका खोल्नुपर्छ भनेर पार्टी लागेको पनि बताए ।
‘सर्वोच्चले एकता भंग नगरिदिएको भए पनि सरकार बन्ने विकल्पहरु खुला नै थिए । अब फेरि नेकपा एमाले त जसपासँग मात्रै मिल्यो भने पनि सरकार बन्यो’,उनले भने,‘ कांग्रेससँग मिल्यो भने पनि शानदार सिटसहितको सरकार बन्छ । माओवादी केन्द्रसँग मिल्यो भने पनि सरकार बन्छ ।’
उनले एमालेबाहेक अर्काको नेतृत्वमा सरकार बन्न गाह्रो भएको जिकिर गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ३ वटै मिल्नु भनेको घाम र जुन मिल्ने जस्तै भएको पनि बताए । उनले माओवादी केन्द्रले एमालेलाई गरेको समर्थन फिर्ता लिए सांसद्सहित माओवादीको तर्फबाट मुख्यमन्त्री बनेकाहरुको पद समेत खोसिने बताए । ‘माओवादी केन्द्रले अपरिपक्व निर्णय लिन्न भन्ने लागेको छ’, उनले भने । लोकतन्त्र कसैको पेवा नरहेको बताउँदै मुख्यमन्त्री गुरुङले अब संयुक्त सरकार बन्ने अवस्था आएको र केपी ओलीको पल्ला भारी भएको जिकिर पनि गरे । पोखरा महानगरपालिका स्थापना दिवसको शुभकामना दिँदै मुख्यमन्त्री गुरुङले तीन सरकारबीच समन्वय हुन नसकेको बताए । संघले कानून बनाउन नसक्दा निकै समस्या परेको उनको भनाइ छ ।





