बेनी, २७ फागुन– म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो । करिब एकबर्षसम्म कोरोना संक्रमणको जोखिमले मन्दिरमा सहज पूजाआजा गर्न नपाएका भक्तजनहरुको बिहानैदेखि भिड लागेको थियो । यस वर्षको शिवरात्री पर्वको अवसरमा गलेश्वर मन्दिरमा पुजाआजा गर्न म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, कास्की, चितवन र सर्लाही लगायतका जिल्लाहरुबाट करिब ५० हजार भक्तजनहरु आएको क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए ।
मन्दिर दर्शन गर्न भक्तजनहरुको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र लगायत सामाजिक संघसंस्थाले स्वयंसेवा गरेकाले सहज भएको भक्तजनको भनाई छ । मन्दिरको मुख्य प्रवेशद्धारमा रहेका प्रहरीले भक्तजनलाई अनिवार्य मास्क लगाउन अनुरोध गरेका थिए भने भिडभाड र मुख्य स्थानमा प्रहरीले निगरानी गरेका थिए । गलेश्वर मन्दिरमा खासगरी साउने सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष पुजाआजा हुँदै आइरहेको छ भने मेला समेत लाग्ने गर्दछ । मन्दिर परिसरमा श्रद्धालु भक्तजनहरुले भजनकिर्तनका साथै नौमती पञ्चेबाजा समेत बजाएका थिए । हिन्दूधर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्दछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवलाई व्याख्या गरिन्छ । महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्व्िसद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ ।
गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन् । पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित गलेश्वर मन्दिरभित्र शिव लगायतका भगवान्हरुको मूर्तिहरु राखिएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई कोषमार्फत व्यवस्थापन गरी मन्दिरको भौतिक पूर्वाधार विस्तारमा लगानी गर्ने गरिएको छ । यसैबीच जिल्लाका विभिन्न स्थानमा रहेका शिवालय मन्दिरमा समेत भक्तजनको भिड लागेको थियो ।





