बेनी, २९ फागुन- एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री पुनले भनिन्, ‘आमा बचाउनका लागि हामीले कार्यक्रम गर्नुपर्छ, किनभने आमा नहुँदा घर परिवार भताभुङ्ग हुन्छन्, बालबालिका टुहुरा हुन्छन् । त्यसैले हाम्रो सानो प्रयासले एकजना आमालाई जोगाउँदै गर्दा सिङ्गो परिवार जोगिन्छ ।’ मन्त्री पुनले बताइन् ।
बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले नेपालमा पाठेघरमा मुखको क्यान्सर निकै ठूलो समस्याको रुपमा रहेकोले यस्ता शिविरहरुले त्यसलाई कम गर्दै लैजाने बताए । कुल २ सय ६५ जनाले पाठेघरमा मुखको क्यान्सरको परीक्षण गराएको निःशुल्क शिविरमा ८ जनाले थप उपचार गर्नुपर्ने देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।





