काठमाडौं, २९ फागुन – नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।
अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको यो समूहको दाबी छ । उपाध्यक्ष भीम रावलले भने, ‘केपी शर्मा ओलीजीले बालुवाटारमा जुन किसिमले कथित बैठक गर्नुभयो र एमालेको विधान, नियमावली र कार्यशैली विपरित जसरी काम गर्नुभयो । त्यो आपत्तिजनक छ, अवैध छ ।’
सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरें भन्नु हास्यापद भएको उनले बताए । केन्द्रीय सदस्यमा थप सदस्य मनोनित गर्ने अधिकार नै नभएको खनाल–नेपाल समूहको दाबी छ ।
बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ । जनसंगठन, वर्गीय संगठन र पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई पनि भेलामा बोलाइएको छ । ‘भेलाबाट हामीले महत्वपूर्ण निर्णय गर्नेर्छौं’ उपाध्यक्ष रावलले बताए ।
पार्टीका प्रदेश संयोजक तोक्यो
सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ ।
त्यस्तै, युवा संगठनको कामको जिम्मा रघु पन्त, विद्यार्थीको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला संगठनको जिम्मा अष्टलक्ष्मी शाक्य, वुद्धिजीवीको जिम्मा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ ।
माधवकुमार नेपालले पार्टीमा आएका पछिल्ला विवादमा कानुनी पाटोबारे कानुन व्यवसायीहरू गोबिन्द वन्दी र टिकाराम भट्टराईसँग परामर्श लिएका छन् । नेपाल पक्षले आजको भेलापछि वक्तव्य जारी गर्न लागेको छ । कानुनी परामर्श र सांसद तथा केन्द्रीय कमिटी सदस्यहरूसँगको छलफलपछि नेपाल पक्षले वक्तव्य जारी गर्न लागेको हो ।
स्थायी कमिटीका तर्फबाट जारी हुन लागेको वक्तव्यमा एमालेमा केपी शर्मा ओलीले लिएको कदम र पछिल्लो राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक हुने बताइएको छ । उक्त वक्तव्यमा उपाध्यक्षको जिम्मेवारी खोसिएका वामदेव गौतमको पनि हस्ताक्षर हुने नेपाल समूहको दाबी रहेको छ ।
शुक्रबार मात्रै केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको केन्द्रीय सदस्यहरूको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएका थिए। यस्तै उनले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको जानकारी पनि आफूपक्षीय केन्द्रीय कमिटी बैठकमा गराएका थिए ।
एकताअघि २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ओली पक्षका नेता १ सय २ जना थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा मनोनीतमध्ये ओली पक्षमा २८ सदस्य थिए । १ सय ३० जना केन्द्रीय सदस्य रहेको भनिएको एमालेको पहिलो बैठक बसेर माओवादी केन्द्रबाट आएका नेताहरू रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेपछि बसेको दोस्रो बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।





