काठमाडौं, ४ चैत – नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरुले साथ दिएका छन् । खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज तथा एमालेका पुराना नेताहरु कमल कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, प्रदिप नेपाल, केशवाणि पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृत बोहोरा लगायतको सहभागिता र साथ रहेको छ ।
खनाल–नेपाल पक्षको कार्यकर्ता भेला आजबाट ललितपुरको सानेपामा सुरु भएको छ । भेलामा तीन हजारभन्दा बढि नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । ओली पक्षले कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएपनि एमालेका संस्थापक नेता र कार्यकर्ताको उल्लेखिय सहभागीता रहेको छ ।
कार्यकर्ता भेलामा कम्युनिष्ट शैली, विचार, दृष्टिकोण र सिद्धान्तनिष्ठ कार्यकर्ताको उल्लेखनीय सहभागी रहेको छ । नवप्रवेशी र भुर्ईफुट्टा ब्यक्ति भेलामा नदेखिएको भेलाका सहभागीले वताए । यसले पार्टीको एकताको मर्मलाई मर्न नदिने उनीहरुको विश्वास छ ।





