काठमाडौं, ७ चैत – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।
संसद् विघटनपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ओलीसमूह र माधव-प्रचण्ड समूह विभाजित भएर देशभर सभा गरेपनि उपाध्यक्ष वामदेव गौतम कुनै समूहमा लागेका थिएनन्। यद्यपी उनले आफ्नो नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका थिए। सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा ब्युँताइदिएपनि कुनै समूहमा सहभागी नभएका गौतम पहिलो पटक शनिबार संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल – माधव नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिष्कार गरेको छ। शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गरिएको निष्कर्ष निकालेको छ।





