बागलुङ, ११ चैत– गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीसहितको संसदीय टोलीको बागलुङ अस्पताल भ्रमणका क्रममा सरोकारवाला निकायले एक अन्र्तक्रिया कार्यक्रम गरे । कार्यक्रममा सभामुखलाई नै अघिल्तिर राखेर स्वास्थ्यकर्मीले भने, ‘असारदेखि जोखिम भत्ताविहीन काम गरिरहेका छौं । बाटो हेरिरह्यौं, भत्ता आइपुगेन ।’
यसरी जोखिम भत्ता नपाउनेमा धौलागिरी अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी बढी छन् । सभामुखाको टोलीले स्वास्थ्यकर्मीको यो गुनासो सुनेर फर्किएको पनि हप्तादिन बढी भइसक्यो । तर, सुनुवाइ अझैसम्म भइसकेको छैन ।
भत्ता नपाउनेमा स्वास्थ्यकर्मीमात्रै छैनन्, कोरोनाका बिरामी बोकेकादेखि शव बोकेर जोखिम उठाएकाहरु पनि छन् । तीमध्ये बढी खटिनेहरु चालकले पनि भत्ता नपाएका हुन् । त्यति मात्र हैन गत असार सम्मको जोखिम भत्ता पाउँदा पनि बागलुङ नगरपालिका भित्रका स्वास्थ्यकर्मीले केहीपनि नपाएको गुनासो गरे ।
‘समस्यामा परेको भनेर नगरस्वास्थ्य शाखाका कर्मचारी अस्पताल पठायौं, त्यसअघि आएको केही भत्तापनि उहाँहरुले बाँड्नु भएछ, नगरका स्वास्थ्यकर्मी रित्तो हात भए,’ बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले भने, ‘माथिल्लो निकायबाट आउला भनेर गरिएका खर्च र कामको भुक्तानी केही पनि आएन ।’ उनले लाखौं रकम व्यवस्थापकीय काममा खर्च भएको माग्ने ठाउँ नपाएको बताए ।
पोखरादेखि पैदलै हिँडेका सयौं मजदुरलाई नगरपालिकाले गाडी चढाएर गन्तव्यमा पठाएको थियो । उनीहरुलाई बस्नेखाने खर्चेको रकम पनि नगरपालिकाको कोषबाटै भुक्तानी भएको पौडेलले बताए । कोरोना भाइरसबाट पाँचौ र छैठौ व्यक्ति संक्रमित भएपछि अस्पताल ल्याउने समयमा जोखिम उठाएका स्वास्थ्य कार्यालयका चालक रुद्र पराजुलीले पनि जोखिम भत्ता नपाएको गुनासो गरे । एम्बुलेन्स चालक समेत फरार भएपछि उनले जोखिम मोलेर बिरामीलाई अस्पताल ल्याएका थिए ।
रातारात संक्रमितको घरघरमा पुगेर ल्याउने काममा खटिएका नगरपालिकाका चालक कमल कार्कीले पनि जोखिम भत्ता नपाएको गुनासो गरे । अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जोखिम मोलेर पनि स्वास्थ्यकर्मीले देखाएको साहसलाई जोखिम भत्ताले मात्र नपुग्ने भन्दै थप सम्मानको आवस्यकता परेको बताए । ‘जोखिममा काम गरेकालाई सम्मान गर्न सकिएन भने फेरी अस्पतालमा दक्ष चिकित्सक भित्राउन गाह्रो छ,’ शर्माले भने, ‘अझैपनि स्थायी रुपमा बस्ने बिशेषज्ञ डाक्टरको खोजी गरिनु जरुरी छ ।’
सरकारले पहिलो लाइनमा खटिनेलाई शतप्रतिशत र दोश्रो लाइनमा खटिनेलाई ५० प्रतिशत भत्ता दिने आश्वासन दिएको थियो । तर पराजुली र कार्कीसहित बागलुङका स्वास्थ्यकर्मीले भत्ता नपाएका हुन् ।
धौलागिरी अस्पतालको आइसोलेसनमा खटिने चिकित्सक, नर्स र ल्याबका प्राविधिक झण्डै २५ जना, बागलुङका १० वटा पालिकामा कोभिड अस्पताल स्थापनामा काम गरे ५० जना, स्वास्थ्य कार्यालयका १० र चालकहरु ५ गरी झण्डै १ सय जनाले जोखिम भत्ता नपाएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए ।
गाउँतहमा क्वारेन्टाइन स्थापना, आइसोलेसन निर्माण र स्वाब संकलनका लागि खटिएका स्वास्थ्यचौकीका फ्रन्टलाइनका जोड्दा यो संख्या अझै बढ्ने कोभिड फोकल पर्सद देवप्रकाश घिमिरेले बताए । ‘गत अािर्थक बर्षको पनि असारको भत्ता नपाएकाहरुले जोखिम मोलेरै पछिसम्म काम गरिरहे तर भत्ता पाएनन्’ घिमिरेले भने, ‘पीडितले घर परिवार र समाजको विभेद खेपेर पनि काम गरिरहेका छन् ।’
काम गर्दा झण्डै ५० जना बढीलाई कोरोना संक्रमण पनि भएको उनले बताए । जोखिम भत्ताका लागि मन्त्रालयसम्म पत्राचार र खोजी भएपनि नआएको हो । संसदीय टोलीका सदस्य सभामुख नेत्र अधिकारी र संसदीय टोलीका मणीभद्र कंडेलले प्रदेश र संघिय सरकारमा पहल गर्ने आश्वासन दिएका छन् ।





