पोखरा, १२ चैत– गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल र सदस्य कल्पना लम्सालले सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक सेरचनको उपस्थितिमा उच्च अदालत पोखराका न्यायाधीश रमेश पोखरेलले अध्यक्ष नेपाललाई सपथ खुवाएका हुन् । अध्यक्ष नेपालले सदस्य पोखरेललाई बुधबार नै सपथ खुवाए ।
गएको ६ गते शुक्रबार उनीहरुलाई लोकसेवा आयोगमा मनोनित गरिएको थियो । अध्यक्ष नेपाल यही चैत २ गते गण्डकी प्रदेशको प्रमुख सचिवबाट अवकाश पाएका व्यक्ति हुन् भने सदस्य लम्साल तनहूँमा रहेको आदिकवि भानुभक्त क्याम्पसकी उपप्रमुख थिइन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अध्यक्ष,विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली र सभामुख नेत्रनाथ अधिकारी सदस्य रहेको समितिको सिफारिसको आधारमा उनीहरु आयोगमा आएका हुन् ।
गण्डकी प्रदेश सरकारले गएको साउनमा प्रदेश लोकसेवा ऐन पारित गरेको थियो । संघ सरकारले कर्मचारी भनेजति कर्मचारी नपठाउने र आफूले पनि नियुक्त गर्न नपाउँदा प्रदेशका कामहरु प्रभावित हुँदै आएका थिए । पदाधिकारी नियुक्तिपछि अब प्रदेश सरकारले आवश्यक कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । नवनियुक्त अध्यक्ष र सदस्यले बुधबार नै कार्यभार सम्हालेका छन् ।





