बेनी, १९ चैत– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत १२ जनामा कोरोना संक्रमित भेटिएका छन् । यसअगाडि जलविद्युत आयोजनामै कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टि भएपछि कन्ट्याक टे«सिङमा परेका १ महिला र ११ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
छिमेकी राष्ट्र भारतसँगै तराईका जिल्लाबाट आएका मजदुरमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । मिस्त्रीखोला जलविद्युत आयोजनास्थलमा कार्यरत सबैजसो मजदुरलाई कोरोना संक्रमणको जोखिममा राखी ७६ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको थियो । ‘नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । संक्रमतिको संख्या हेर्दा अवस्था भयावह छ । बाहिरी जिल्लाबाट प्रवेश गर्ने मजदुरलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ,’ प्रमुख लम्सालले भने ।
संक्रमितमा लक्षणसमेत भेटिएकाले थप सतर्कता अपनाउनसमेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । छिमेकी राष्ट्र भारतसँग सीमाना जोडिएका जिल्लाबाट ठूला विकास निर्माणका आयोजनामा काम गर्न आउने मजदुरलाई परीक्षणबिनै छोड्दा कोरोना संक्रमित भेटिन थालेको भन्दै जिल्ला प्रवेशमै कडाइको माग गरिएको छ । जिल्लामा सञ्चालित ठूलो आयोजनामा तराई र भारतीय मजदुर आउने गरेपनिबिना परीक्षण सींधै आयोजनास्थलमै पुग्ने गरेका छन् ।
नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइएको आशंकामा विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएपनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले यसअगाडी विदेशबाट आउने मजदुर र लामो समयका लागि घर विदानमा आएकालाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय गरेको थियो ।





