पोखरा, २२ चैत– रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन भएको छ । शनिबार रेडियोकै प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरे । यस्तै नयाँ रक्तदाताको संख्या ७६ रहेको छ । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहीनले समेत रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडीओ) थानेश्वर गौतमले रेडियोले रक्तदान कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले सामाजिक परिवर्तनको अभियानमा विगत २० वर्षदेखि रेडियो अन्नपूर्ण अनवरत रुपले लागिरहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले रेडियोले वर्षेनी आयोजना गर्दै आएको रक्तदान कार्यक्रमले धेरै नयाँ रक्तदाता जन्माएको उल्लेख गरे ।
रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले विगत १९ वर्षदेखि रेडियोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी गराए । रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले रेडियो अन्नपूर्ण सँधै समाजसँगै साथमा रहेको दावी गरे । १९ औं वृहत रक्तदान कार्यक्रमका संयोजक रेडियो अन्नपूर्णकर्मी दीननाथ बरालले रक्तदान कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिए ।





