बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घाँसको लोभमा जंगलमा डढेलो : म्याग्दीमा १२ सय हेक्टर वन सखाप

घाँसको लोभमा जंगलमा डढेलो : म्याग्दीमा १२ सय हेक्टर वन सखाप


  • हरिकृष्ण गौतम
  • चैत्र २५ २०७७, बुधबार

म्याग्दी, २५ चैत्र – बेनी नगरपालिका–२,ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगोलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मी परिचालन ग¥यो । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म आगो नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा आएन । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७, धारापानी सामुदायिक वनमा आगोलागीले करिब ६० हेक्टर जंगलमा क्षति पुग्यो । यसवर्ष म्याग्दी जिल्लाका सबै स्थानीय तहमा ४७ सामुदायिक वनमा आगालगी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति भएको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौं रूख विरुवा जलेर नष्ट भएका छन् । म्याग्दी जिल्लामा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । म्याग्दीमा १० हेक्टरदेखि १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।
हरेक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्याङ्कले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठीन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । अव्यवस्थित ढंगले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाइँदा वातावरणीय र मानवीय क्षति हुँदै आएको छ । सामान्यतया सुक्खा र गर्मी हुने मौसममा डढेलो बढी हुने गरेपनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलहरुमा आगो लगाउने गरिएको डिभिजन बन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए ।‘यसबर्ष म्याग्दीमा आगोलागीबाट धेरै क्षती भयो,‘मानवीय लापरबाहीले आगलागी हुने गरेको छ’ खनालले भने । उनका अनुसारमानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधनको नष्ट गर्ने गरिएको बताए ।
डढेलो नियन्त्रणका लागि डिभिजन बन कार्यालयले विभिन्न शिर्षकमा १० लाख बजेटमा विभिन्न उपकरण सहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरिएको छ । भौगोलिक विकटता र स्रोत–साधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठीन भएकाले सुरक्षा निकायलाई समेत उपकरण सहयोगसहित नियन्त्रणमा पुग्न लाग्ने खर्च कार्यालयबाटै व्यवस्थापन गर्न आगामी वर्ष थप बजेट माग गरिएको निमित्त प्रमुख खनालले बताए । हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
डढेलोले वन खाएपछि कार्यालयले वृक्षरोपणको कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । आगलागीपछि पहिरो जाने सम्भावना बढी हुन्छ । आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारण भएको पनि कार्यालयको ठहर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->