बेनी, ३ बैशाख -बिहीबार पोखरासहित गण्डकीका धेरैजसो जिल्लामा दिउसै अध्याँरो भयो । एक्कासी अँध्यारो भएपछि मान्छेहरु आत्तिए । सामाजिक सञ्जालमा अँध्यारोको तस्वीरहरुको पोष्ट गरियो । बेनी सामुदायिक मावि कक्षा ८ मा अध्ययनरत असल आचार्य विद्यालयबाट घर फर्किने क्रममा आत्तिदै विद्यालय भित्र प्रवेश गरे । विद्यालयबाट बाहिर निस्किएका अधिकाश विद्यार्थी दिउँसो ४ बजे नै अँध्यारो भएपछि त्रसित हुँदै विद्यालयमै प्रवेश गरेपछि अभिभावकलाई बोलाएर जिम्मा लगाइयो । सदरमुकाम बेनीबजारसँगै आसपासका क्षेत्रमा जानुपर्ने विद्यार्थीहरूलाई अभिभावक र शिक्षकको सहयोगमा सवारीसाधनको व्यवस्था मिलाएर पठाइयो । ‘करिब १ सयको हाराहारीमा विद्यार्थीलाई अभिभावकको जिम्मा लगाइयो,केहीलाई शिक्षकले नै घरमा पु¥याइदिनुभयो’, विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले भने । उनका अनुसार केही विद्यार्थीले आँखा पोलेको महशुस पनि गरे । जीवनमै पहिलोपटक दिउँसै अध्यारोको सामाना गरेको अवस्थामा वायू प्रदूषण र तुवाँलोले विकराल रुप लिइरहेको अवस्थामा विद्यालयले विद्यार्थीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नदिनसमेत अपिल गरेको प्रअ श्रेष्ठको भनाई छ ।
दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासी धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो । ग्रामीण क्षेत्रमा घाँसदाउरा गर्न बनजंगलमा गएकाहरु समेत अँध्यारो भएपछि हतारहतारमा घर फर्किएको धवलागिरी गाउँपालिका–७ ताकमका युवा गोपाल आचार्यले बताए । म्याग्दीको सदरमुकाम बेनी आसपासका जंगलसँगै जिल्लाका अधिकांश वन डढेलोका कारण पनि वायू प्रदुषणको अवस्था विकराल बनेको हो ।
यसबर्ष करिब १४ सय हेक्टर क्षेत्रफल डढेलोले सखाप भएको छ । वायुको गुणस्तर सूचांक (एक्यूआई) ले म्याग्दीको मापन नगर्ने भएकाले सामान्य वा घातक भन्ने सूचकमा देखिएको छैन् । घर नजिकैको जंगलमा डढेलो लाग्दा बालबालिकाहरुमा श्वासप्रश्वासको समस्या देखिन सक्ने बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले बताए । ‘वातावरणीय प्रदुषण चुरोट जत्तिकै हानिकारक हुन्छ,आजको अवस्थाले थप जोखिम निम्त्याउन सक्छ’, डा. बस्ताकोटीले भने । चुरोटमा भन्दाबढी क्यान्सरजन्य रसायन प्रदुषणमा पाइन्छ भने वातरणीय प्रदुषणमा हुने डा. बस्ताकोटीको भनाई छ । वायू प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्यासमेत देखिएको छ । वन तथा वातावरण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता इन्दुबिक्रम जोशीले वायू प्रदूषणकै कारण यो समस्या आएको बताए । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधि प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रवक्ता जोशीको सुझाव छ ।





