बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अन्नपूर्ण हिमाल चढेकी पत्रकार पूर्णिमालाई सम्मान

अन्नपूर्ण हिमाल चढेकी पत्रकार पूर्णिमालाई सम्मान

८ हजार मिटर माथिका १४ वटै हिमाल चढ्ने धोको ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०७८, सोमबार

बेनी, ६ बैशाख– दुई बर्षको तयारी र मेहनतपछि पत्रकार पुर्णीमा श्रेष्ठले उत्तरी म्याग्दीमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेकी छन् । अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला पारेर किर्तिमान बनाएकी श्रेष्ठलाई सोमबार म्याग्दीमा सम्मान गरिएको छ ।

अन्नपूर्ण हिमाल अवस्थित नारच्याङमा गाउँपालिका, वडा कार्यालय, अन्नपूर्ण युवा क्लव, आमा समूह तथा बेनीमा नेपाल पत्रकार महासंघले सम्मान गरेका हुन् । काठमाडौको सेभेन समिट ट्रेक्स कम्पनी मार्फत २०७७ चैत ८ गते नारच्याङ हुदै पैदलमार्ग भएर गएका पुर्णिमा लगायत ६ जना नेपाली महिला टोलीले २०७८ बैशाख ३ गते दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेका थिए । जोखिमयुक्त र कठिन मानिने अन्नपूर्णमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड थिएन । टोलीमा पुर्णिमा सहित दावा याम्जुङ शेर्पा, दावा फुटी शेर्पा, माया शेर्पा, पासाङ ल्यामु शेर्पा र शर्मिला तामाङ छन् ।

शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा उनिहरुले अन्नपूर्ण आरोहण गरेका हुन् । श्रेष्ठले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिईन् । ‘मैले अन्नपूर्णबाट हिमाल आरोहणको मिठो अनुभब लिएर फर्किएको छु,‘विश्वमै आरोहीको सबैभन्दा आर्कषक गन्तब्य नै यो हिमाल पर्ने पक्का छ’ उनले भनिन् । हिमाल आरोहणको क्रममा निकै सकस भएपनि चुचुरोमा पुगेपछि जिवनकै खुसीको क्षण मिलेको बताईन् । ‘८ हजार माथिका १४ वटै हिमाल आरोहण गर्ने धोको छ,‘अन्नपूर्ण जोखिम मध्येको एक हो’ उनले भनिन् । गोरखा जिल्ला आरुघाटकी श्रेष्ठले मनास्लु र सगरमाथा आरोहणमा कुनै जोखिम महसुस नगरेपनि अन्नपूर्ण जोखिमसँगै हिमाल आरोहीका लागि मिठो सम्झना हुने हिमालको रुपमा लिएको बताईन् । आरोही पुर्णिमाले हिमाल आरोहणको अनुभव सुनाउदै मौरिज हर्गोज पदमार्गको प्रर्वद्धनमा जुट्ने प्रतिवद्धता जनाईन् ।
उनले हालसम्म ८ हजार मिटर माथिका ३ हिमाल आरोहण गरिसकेकी छन् । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा रहेकाले थप योजना सहित आरोहण गर्ने श्रेष्ठले बताईन् ।

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । अन्नपूर्णको आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो । अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको किर्तिमान बनाएकाले उनिहरुलाई सम्मान गरिएको हो ।

बेनीमा आयोजित सम्मान कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले नाच्याङ हुदै अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज” पदमार्गको प्रयोग गरेर आरोहणमा गएको पहिलो टोलीको सफलताले उत्साहीत बनाएको बताए । गत शुक्रबार ६७ जनाले एकै दिन अन्नपूर्ण हिमाल चढेर अर्को किर्तिमान पनि बनेको छ । यो टोलीलाई अन्नपूर्ण आरोहणका लागि गण्डकी प्रदेश सरकारले आठ लाख रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाले चार लाख रुपैयाँ, अध्यक्ष पुनले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ सहयोग गरेका थिए । पत्रकार महासंघले आयोजना गरेको सम्मान कार्यक्रममा निलगिरी हाइड्रोपावरले उपलब्ध गराएको एक लाख रुपैयाँ पुर्णिमालाई अध्यक्ष पुनले हस्तान्तरण समेत गरे । श्रेष्ठले अन्नपूर्ण हिमाल, मौरिज हर्गोज पदमार्ग र आधार शिविरको प्रसारप्रसारका लागि जोखिमयुक्त मानिने अन्नपुर्ण हिमाल आरोहणका लागि दुई वर्षअघि बनाएको योजना सफल भएकोमा खुसी गरेका थिए ।

गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामाकरण, नक्साङ्कन, पुर्बाधार निर्माण र प्रर्वद्धन सुरु गरेको छ । ‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ । यसअघि आरोहीहरु हेलिकप्टरबाट आधार शिविर जाने गरेका थिए । मुस्ताङको कुञ्जो हुदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । बि.स. २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ । आधारभूत स्तरको पुर्बाधार तयार भएको छ । पर्यटन बिभागले साढे दुई करोड रुपैयाँ भन्दा बढीको लागतमा हुमखोला देखि आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गर्न सुरु गरेको छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको संख्या कम भएको हो । पत्रकार महासंघको बेनी स्थित कार्यालयमा आयोजित कार्यक्रममा शाखा अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष हरिकृष्ण गौतम, सचिब सन्तोष गौतम, कोषाध्यक्ष अमित बिक लगायतले सम्मान गरेका थिए । शाखा अध्यक्ष पौडेलले पुर्णिमाले अन्नपूर्ण आरोहण गरेर नेपाली पत्रकार र महिलाहरुको साहसलाई प्रस्तुत गरेको भन्दै प्रशसा गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->