
तनहुँ, ९ बैशाख– तनहुँको ढोरफिर्दीमा शीत भण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र संघीय सरकारको २ करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा भण्डार बन्न लागेको हो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी संगम टोलमा बन्ने शीत भण्डार २ सय टन क्षमताको हुनेछ ।
शीत भण्डारको शुक्लागण्डकीका नगरप्रमुख किसान गुरुङले शिलान्यास गरेका छन् । गुरुङले किसानको उत्पादन सही समयमा बजारमा पु¥याउन शीत भण्डार अत्यावश्यक रहने बताए । किसानको माग अनुसार निर्माणको थालनी भएको उनको भनाइ छ । ‘शीत भण्डार बनेपछि किसानले व्यवसायिक तवरले कृषी उपज उत्पादन सक्नुहुनेछ,’ उनले भने, ‘आफूलाई चाहिनेभन्दा धेरै उत्पादन गर्दै भण्डारमा राखेर राम्रो मूल्य पाउने समयमा बेच्न सकिन्छ ।’
शीत भण्डार निर्माणको ठेक्का जय नेपाल ईश्वर सीता बिल्डर्स जेभीले पाएको छ । गत चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको हो । सम्झौताअनुसार अगामी पुस मसान्तसम्म निर्माण सक्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षमा भण्डार निर्माणको शीर्षकमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । संघीय सरकारले सशर्त अनुदानमा १ करोड रुपैयाँ उपलब्ध गराएको छ भने शुक्लागण्डकी नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ ।
बाँकी ८२ लाख ५० हजार रुपैयाँ आगामी वर्ष खर्च गरिनेछ । यो योजनामा संघ र प्रदेशबाट बजेट नआएको खण्डमा नगरले नै स्रोत उपलब्ध गराउने बोर्ड बैठकले निर्णय गरेको शुक्लागण्डकी–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले ८ नम्बर वडामा आलु उत्पादनको कार्यक्रम चलाएको छ । उक्त कार्यक्रमलाई सघाउन संघीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्र्तगत आलु पकेट कार्यक्रम सञ्चालन भयो । संघीय सरकारको २४ लाख र कृषकले साढे १६ लाख रुपैयाँ व्यहोर्ने गरी ४१ लाख रुपैयाँको कार्यक्रम यो वर्ष भएको हो ।
सरकारी अनुदानले हौसिएका वडाका किसानले यो वर्ष १ सय ५० टन आलु उत्पादन गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिए । २४ टन आलु यहाँका कृषकले पोखराका शीत भण्डार अर्थात कोल्डस्टोरमा पु¥याएका छन् । शीत भण्डारमा आलु लैजान वडा कार्यालयले ढुवानीको व्यवस्था गरिदिएको उनले बताए । ‘कोल्डस्टोरमा लान र ल्याउन वडाबाट १ लाख रुपैयाँ बजेट नै छुट्याएका छौं,’ वडाध्यक्ष रेग्मीले भने ।
यो क्षेत्रमा पहिल्यै शीत भण्डार बनाउनुपर्ने किसानहरुको माग थियो । तर, ढिलै भएपनि माग सम्बोधन भएर निर्माण सुरु भएपछि आशावादी बनेका छन् । ‘पहिल्यैदेखि यहाँ शीत भण्डार चाहिएको थियो,’ मिलन कृषक समूहका अध्यक्ष रमेश महतले भने, ‘यो वर्षदेखि निर्माण सुरु भएको छ । समयमै सम्पन्न होस् । निर्माण सम्पन्न भएपछि हामी कृषकको पसिनाले बल्ल मुल्य पाउनेमा आशावादी छौं ।’
अहिले शीत भण्डारसम्म कृषी उपज लैजान टाढा पर्ने भएकाले किसानले लगानी नै नउठ्ने गरी उत्पादित वस्तु बिक्री गर्नुपरेको उनले सुनाए । ‘मूल्य बढेको बेला बेच्न राख्यो भने झन कुहिएर जान्छ की भन्ने डर । बेलैमा बेच्यो मुल्य नै नपर्ने,’उनले भने ।





