बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

६ छोरी जन्मिएपछि श्रीमान बेपत्ता

६ छोरी जन्मिएपछि श्रीमान बेपत्ता

श्रीमति बिरामी, छोरीहरुको पढाइ खर्च जुटाउनै हम्मेहम्मे ।


  • हरिकृष्ण गौतम
  • बैशाख ११ २०७८, शनिबार

बेनी, ११ बैशाख– म्याग्दीको विकट धवलागिरि गाउँपालिका २, लुलाङकी ३७ वर्षीया सुकमाया विक विवाह गर्दा १६ वर्षकी थिइन् । परिवारको आर्थिक स्थिति कमजोर रहेको अवस्थामा माइतीले २७ वर्षीय पूर्णबहादुर विकसँग विवाह गरिदिए । १७ वर्षको उमेरमा उनी आमा बनिन् ।
सुरुदेखि नै शरीर र पेट दुख्ने समस्याबाट ग्रसित सुकमायाका श्रीमानले पहिलो सन्तान नै छोराको कामना गरेका थिए । पहिलो सन्तान छोरी जन्मिएपछि निकै निराश भएका श्रीमानको खुसीका लागि सुकमायाले छोराकै आशमा ६ छोरी जन्माइन् । तर पनि छोरा जन्मिएन । निरोगीजस्तो देखिए पनि शारीरिक रूपमा निकै कमजोर भएकाले सुकमायाले दुई सन्तानभन्दा बढी जन्माउन मन थिएन ।
तर, लगातार ५ छोरी मात्रै जन्मेपछि छोराकै पर्खाइमा ६ सन्तानलाई जन्म दिँदा अहिले उनी रोगबाट ग्रसित छिन् । घरमा छोरा नभए लखेट्ने धम्की दिँदै आएका पूर्णबहादुरले कान्छी छोरीको अनुहार समेत हेरेनन् । पूर्णबहादुरले छोरी र श्रीमतीलाई छोडेर अर्को विवाह गरी भागेको करिब २ वर्ष भइसक्यो ।
पाठेघरको समस्याले समान्य घरायसी काम बाहेक गर्न नसक्ने अवस्थामा पुगेकी सुकमायाका श्रीमानले छिमेकी मालिका गाउँपालिका ३, रुमकी एक युवती लिएर बागलुङमा बस्छन् । छोरीलाई सन्तानको रुपमा स्वीकार नै नगर्ने पूर्णबहादुरले चटक्कै छोडेर भागेपछि जेठी छोरी शर्मिलाले आफ्नो पढाइसमेत छोडेर नियमित घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र बहिनीको पढाइ खर्च जुटाइरहेकी छन् । लुलाङ गाउँभन्दामाथि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको आर्थिक सहयोगमा बनाइएको टहरामा बस्दै आएकी सुकमायालाई ७ जना छोरीको पालनपोषण गर्न कठिन भइरहेको छ ।
लगातार छोरी जन्मिएकै कारण श्रीमान बेपत्ता भएपछि पालनपोषणमा समस्या भएको सुकमायाले बताइन् । ‘श्रीमानको चाहनाअनुसार धमाधम सन्तानलाई जन्म दिए, समाजले पनि एउटा छोरा नै खोज्ने रहेछ,’ सुकमायाले भनिन् । छोराको लोभमा छोरी बढी भएपनि अहिले छोरीहरूको सहयोगबाट घरायसी खर्च चल्ने गरेको बताइन् ।
‘जेठी छोरीलाई पढाउने चाहना छ, कतैबाट सहयोग जुटेमा छोरीहरूलाई पढाउन चाहन्छु,’ सुकमायाले भनिन् । २÷३ वटी छोरी जन्मेपछि परिवार नियोजनका लागि श्रीमानलाई सम्झाउँदा छोराबिनाको घर अशुभ हुन्छ भन्दै धम्की दिएका थिए । हरेक पटक सुत्केरी हुँदा पटकपटक मृत्युको मुखबाट बचेको बताएकी सुकमायाले श्रीमानको बाटो हेर्दाहेर्दै आँखा थाकिसकेको बताइन् ।
‘श्रीमानको इच्छाअनुसार सन्तान जन्माउने मेसिनको रुपमा मात्रै प्रयोग भएँ । कान्छी छोरी जन्मेपछि सुत्केरीको अवस्थामा पूरा पेट खाना खानसमेत पाइनँ,’ गहभरि आँसु झार्दै सुकमायाले बह पोखिन् । उनले छोरीलाई राम्रो शिक्षा दिएर श्रीमानलाई देखाउने धोको भएपनि आर्थिक अवस्था कमजोर भएकै कारण सम्भव नभएको बताइन् ।
धेरै सन्तान जन्माउँदा रगत बग्ने, जीउ दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन् । छोराको पखाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने सुकमायाको समस्या निकै कमजोर रहेको स्थानीय यूवा रेशमबहादुर विकले बताए । ‘गाउँमा सबैभन्दा कमजोर परिवार हो, छोरी पढाइसमेत छोडेर ज्याला मजदुरी गर्न जान्छिन्, उनले खर्च जुटाउन नसके भोकभोकै बस्नुपर्छ,’ विकले भने ।
अधिकांश महिला छोरा नजन्माएकै आरोपमा विभिन्न घरेलु हिंसा भोग्न बाध्य भएको धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए । ‘लुलाङमा कलिलै उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘पछिल्लो समय सुधार आएपनि कमी हुन सकेको छैन,‘कलिलै उमेरमा विवाह गरेका अधिकांसको छोराछोरी धेरै छन् ।
आफ्नो सन्तान राख्ने र मरेको दिन दागबत्ती बाल्न छोरा मात्रै हुनुपर्छ भन्ने पितृसत्तात्मक मानसिकताबाट ग्रसित समाज, घर र श्रीमानको दवाबमा आमाहरू अहिले पनि इच्छाविपरीत सन्तान जन्माउन बाध्य हुने गरेको महिला अधिकारकर्मी ज्योति लामिछानेको भनाइ छ । भन्छिन्, ‘व्यावहारिक रूपमा छोरा र छोरी एकै हौं भन्ने कुरा स्थापित नभएसम्म महिलाले पाउने दुःख नहट्ने देखियो ।’
जनचेतनाको अभाव र गरिबीकै कारण श्रीमतिमाथि श्रीमानले कुटपिट गर्ने र दोस्रो विवाह गर्ने गरेको बताउँदै कानुनअनुसार कारवाहीले समेत घटना न्यूनीकरणमा केही सहज हुने अधिकारकर्मी लाछिमानेले बताइन् । छोराको मात्रै गणना गर्ने समाजले महिलाको स्वास्थ्य बिग्रेकोभन्दा छोरा नजन्माएकोमा बढी चिन्ता गर्ने ग्रसित मानसिकतालाई तोड्नुपर्ने उनले बताइन् ।
धवलागिरी गाउँपालिका–२, लुलाङकी सुकमाया विक छोरीहरूसँग ।
तस्वीर सौजन्य : रेशमबहादुर विक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->