तनहुँ, १२ वैशाख– भीमाद नगरपालिका–९ पाथर्दीका २९ वर्षे ठिटो शिवकुमार आलेले एक दशकदेखि बाख्रा पालन गर्दै आएका छन् । ४ वर्षअघि उनी साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर आएपछि बाख्रा पालनलाई बढाएका हुन् ।
बोयर बाख्रा पालनबाट मनग्य आम्दानी गर्ने शिवकुमार पाथर्दीका एक्ला कृषक होइनन् । उनीसँगै गाउँमा ६० घरधुरीले व्यवसायिक बाख्रा पालन गर्दै आएका छन् । बाख्रा बेचेर यहाँका कृषकले वार्षिक डेढ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल छन् ।
बाख्रा पालनकै कारण यो गाउँको चर्चा देशभर छ । बोयर बाख्राको स्रोत केन्द्र पाथर्दी गाउँमा अध्ययन अवलकोनका लागि देशभरका कृषकको आउजाउ भइरहन्छ ।
शनिबार दिउँसो नेपालका लागि इजरायली राजदूत हनन गोडर पनि पथार्दीस्थित शिवकुमार आलेको बाख्रा गोठमै पुगेर अवलोकन गरे । आलेले सञ्चालन गरेको सृजनशील बाख्रा फार्मको अवलकोनका लागि आएका गोडरले बाख्रा पालनबारे जानकारी लिए । वार्षिक आम्दानी कति हुन्छलगायत प्रश्न गरे । निकै सरल र सहज देखिएका उनले करिब एक घण्टा पाथर्दीमा बिताए । कोदो सेल, मह लगायतका स्थानीय अर्गानिक स्वाद चाखे । स्थानीयलाई पनि आफैंले बनाएर इजरायली तखिनाको स्वाद चखाए । केटाकेटीसँग पनि रमाए ।
ढोरपाटनकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदैै उनले शिवकुमारको बाख्रापालनबाट आफू प्रभावित भएको बताए । ‘उनको कृषि कर्मबाट म एकदमै प्रभावित छु,’ उनले भने, ‘युवाहरुले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दैछन्, मैले देख्न पनि पाएँ ।’
कृषि पेशालाई रहर मात्र बनाउन नहुने राजदूत हनानको भनाइ छ । उनले भने, ‘कृषि रहर होइन । यो व्यवसाय हो, पेशा हो । जिन्दगीको एउटा बाटो हो ।’ कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरु निकै मेहनती भएको उनले सुनाए ।
‘बाख्रा पालन सुरु गर्दा कुनै दिन राजदूत आएर आफ्नो गोठको अवलोकन गर्नुहुन्छ भन्ने कल्पना समेत थिएन्,’ कृषक शिवकुमारले भने, ‘जीवन गुजाराका लागि व्यावसायिक बाख्रा पालन थालेको थिएँ । आजको दिनमा राजदूतको आवगमनले हौसला थपेको छ ।’ आफूसँगै समुदायलाई समेत आर्थिक आत्मनिर्भरको बाटो देखाउन पाउदाँ यो पेशाले सन्तृष्टि मिलेको उनले बताए ।
पाथर्दी गाउँबाटै २०७५ चैत १० गते गण्डकी प्रदेशको महत्वाकांक्षी कार्यक्रम ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ को सुरु भएको थियो । गोठभरि बाख्रा पाल्ने यहाँका कृषकले त्यही बाख्रा देखाएर पाहुना डाक्न थालेका छन् । मगर समुदायको बस्ती पाथर्दीमा २ वर्षदेखि सामुदायिक होमस्टे सञ्चालन गरेका छन् ।





