म्याग्दी, २३ वैशाख– कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ खन्तीमा कालोपत्रेको काम सुरु भएको छ ।
मुस्ताङको कोबाङदेखि कैकुखोला सम्मको साढे १५ किलोमिटर सडक खण्डमध्ये खन्तीबाट मंगलबारदेखि कालोपत्रे गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका इन्जिनियर सचिन शर्माले जानकारी दिए ।ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका इन्जिनियर शर्माले दिएको जानकारी अनुसार रु ५५ करोड ३० लाख १६ हजार रुपैयाँमा सडक कालोपत्रेको जिम्मा लिएको हो । सो सडकमा अस्फाल्ट प्रविधिको कालोपत्रे हुने उनले बताए ।
इन्जिनियर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्रे र १३ सय मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनिले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ ।आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्ष्यका साथ कालोपत्रेको काम सुरु गरिएको उनले बताए ।
सडकलाई दुई लेन फराकिलो बनाइएको छ । घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भैसकेको छ । सडक साढे ८ मिटर फराकिलो छ । त्यसैगरी शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नं २ को जलथलेदेखि कैकुसम्मको सडकमा पनि कालोपत्रेको तयारी गरिएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने बादरजुङ,काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ ।२०६४ सालमा नेपाली सेनाले ट्याक खोलेको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि ४ प्याकेजमा स्तरोन्नतिको काम भैरहेको छ । पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोला सम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रेको तयारी भैरहेको सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका प्रमुख अमृत दाहालले बताए ।





