बेनी, २४ बैशाख – म्याग्दीको धौलागिरी हिमालको शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । बुधबारदेखि मौसममा अचानक मौसम खराब भएपछि सबै आरोही शिविरमा रोकिएपछि उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । दुई साताअघि धौलागिरी बेसक्याम्पमा पुगेका आरोहीहरूमध्ये केही बिरामी भएपछि हेलिकप्टर लिन गएपनि खराव मौसमका कारण धौलागिरी गाउँपालिका–४, खिवाङ आसपासका क्षेत्रमा अवतरण गरिएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘आरोहण दलका केही सदस्य विरामी छन्,टोलीमा नेपाली आरोही पनि छन्’, शेरचनले भने ।
विभिन्न देशबाट आरोहणका लागि आएका १० जना विदेशी फर्किने तयारीमा रहेको बताइएपनि आरोहण दलमा रहेका पत्रकार पूर्णिमा श्रेष्ठसहित तीन जना नेपाली आरोही फर्किने वा बेसक्याम्पमै बस्ने भन्ने बारेमा अझै जानकारी आएको छैन् । यसै साता धौलागिरी हिमालको शिखरमा पुग्ने लक्ष्यसहित गएको टोलीलाई खराम मौसम र आरोहीको स्वास्थ्यमा देखिएको खरावीले समस्या उत्पन्न भएको बताइएको छ । बिरामी आरोहीको अवस्था खतरामुक्त भएपनि आरोहण गर्न नसक्ने अवस्थामा रहेकाले टोली फर्किने बाध्य भएको आरोहण दलका सदस्यको भनाई छ । केही दिन मौसममा सुधार हुने संकेत नदेखिएकाले आरोही तथा कम्पनीलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएपछि टोलीले फर्किने तयारी गरेको हो । जल तथा मौसम पुर्वानुमान शाखाबाट समेत मौसमका बारेमा जानकारी लिएपछि एजेन्सीले आरोहीलाई उद्धारका लागि हेलिकप्टर पठाएका थिए ।








