
पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।राजीनामा प्रदेश प्रमुख सिता कुमारी पौडेललाई वुझाएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजीनामा आईतवार दिउसो प्रदेश प्रमुख पौडेललाई बुझाएका हुन् ।
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजिनामा स्विकार गरी गुरुङको सरकारले गरेको कामका लागि धन्यवाद दिदै अर्काे मन्त्रीपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) मौजुदा मन्त्रीपरिषदलाई नै कार्य जिम्मेवारी तोकेकी छिन् ।
साथै, प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र नयाँ सरकार गठनका लागि आब्हान गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले सोको जानकारी दिए ।
धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङका विरुद्ध विपक्षले राखेको अविश्वासको प्रस्तावमा भोलि नै मतदान गर्ने कार्यसूची थियो ।






