
पोखरा, २८ वैशाख – गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै अव ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्न अस्विकार गरेपछि यो सम्भावना वढेर गएको हो । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् । जनमोर्चाका ३ सांसद छन् । जनमोर्चाका ३ सांसदको हस्ताक्षर नभए वहुमत पुग्दैन् ।
सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दलहरुलाई दिएको समय आज राती सकिदैछ । प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ ।
प्रदेशसभाको सबभन्दा ठूला दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।





