
बेनी, २९ बैशाख– म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानका दिलबहादुर विकको बिहेमा निम्तो मान्न बैशाख १४ गते गएका २७ वर्षीय धजेन्द्र पुन बिवाहस्थलबाटै गायब भए । हराएको १२ दिनपछि बैशाख २५ गते देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित साँधुरो ओडारभित्र ढुंगाले थिचेर राखिएको अवस्थामा शव भेटियो ।
प्रवेशद्वार निकै साँघुरो र भित्रसमेत एकैपटक २ जना प्रवेश गर्न नसकिने ओडारमा शव भेटिएपछि खोजीकार्य सुरू भयो । प्रहरीले शव भेटिएको २ दिनमै जिल्ला प्रहरी कार्यालय म्याग्दीले पोखराबाट पक्राउ परेका धजेन्द्रको हत्या आरोपी ५ जनाको पहिचान खुलेको जनाएको छ ।
हत्याका मुख्य आरोपी देवीस्थान घर भई हाल पोखरा बस्ने २१ वर्षीय भेषबहादुर विक र देविस्थानकै रामबहादुर परियार रहेका छन् । अन्य ३ जना बालकले समेत सघाएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘भेषबहादुरले दाजुको बिहेमा निम्तो मान्न गएको मौकामा धाजेन्द्र हत्या गरे । कुटपिट गरेर घरमै छोड्ने योजना बनाएपनि अचेत भएपछि ओडारमा फालेको देखिन्छ,’ प्रनाउ राईले भने ।
राईकाअनुसार हत्यामा संलग्न अन्य ३ जना १८ वर्षभन्दा कम उमेरको देखिएकाले नाम सार्वजनिक गरिएको छैन । प्रहरीको अनुसन्धानमा अभियुक्त भेषबहादुर र मृतक धजेन्द्रको पुरानो रिसिबिई भएको बुझिएको छ । कुटपिट गर्ने क्रममा हात भाँच्चिएपछि एक्कासि अचेत भएको अवस्थामा ओडारभित्र लगेर छोडेको प्रहरी समक्ष स्वीकार समेत गरेका छन् । ‘ओडारमा शव लुकाएर ४ जना पोखरा गएका थिए । एकजनालाई गाउँबाटै पक्राउ गरियो,’ प्रनाउ राईले भने ।
खोजी गर्ने क्रममा ओडारभित्र टाउको र कुम देखिएको अवस्थामा शव भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । हतार–हतारमा अभियुक्तले घटनास्थलमा छाडेको मोवाइल सेट, घाँटी अठ्याउन प्रयोग भएको चार्जरको कनेक्टर तारसमेत छोडेकाले प्रहरीलाई अनुसन्धानमा सजिलो भएको थियो । देवीस्थानका स्थानीयकाअनुसार मृतक र उनका बुवासँग भेषबहादुरको पुरानो दुश्मनी थियो । घरको विवाह उत्सवमा निम्तो मान्न आएका आएका पाहुनालाई स्वागत गर्नुपर्ने ठाउँमा हत्या गरिएको भन्दै देविस्थानबासी समेत स्तब्ध भएका छन् ।
विवाहमा गएकी ११ बर्षिय बालिका माथि गिद्धे नजर परेपछि..
गएको बैशाख १४ गते म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानका दिलबहादुर विकको बिहेमा अबेरसम्म रमझम सकिएकै थिएन । घरमा रमझम, रमाइलो, नाचगान र खानपिन चलिरहेको थियो । सबै आ–आफ्नै धुनमा थिए । विवाहमा परिवारका सदस्यसँगै गएकी ११ बर्षिया बालिकामाथि सोही ठाउँकै जुग्जाका २१ वर्षीय विजय विकको गिद्धे नजर प¥यो । बिहेको रमाइलो माहोलमा घुलमिल भइरहेकी बालिकालाई पैसाको प्रलोभन देखाएर विकले जबरजस्ती करणीको प्रयास गरे । हातमा १ सय रुपैयाँ लिएर प्रलोभनमा पारी जबरजस्ती गरेका विक गाउँमा हल्ला चल्न थालेपछि पोखरा पुगे ।
१४ गतेको घटनालाई पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा दिएपछि मात्रै सार्वजनिक भयो ।पक्राउ पर्ने डरले पोखराको एक ग्रिल उद्योगमा लुकेर बसेका विकलाई प्रहरीले नियन्त्रणमा लिएर बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
विवाहको मौकामा आफूले गल्ती गरेको अभियुक्तले स्वीकार गरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘पैसा दिएर बालिकालाई जवरजस्ती गरेको पुष्टि भएको छ, थप प्रमाण जुटाएर मुद्धा दर्ता गछौं,’ प्रनाउ राईले भने । उनले बालिकालाई अभियुक्तले निगरानीमा राखेजस्तै अनुसन्धानमा देखिएको बताए ।
घटनास्थलको अवस्था हेर्दा पूर्व योजना नभएपनि विकले बालिकालाई प्रलोभनमा पार्न अनेक प्रयास गरेको देखिएको प्रनाउ राईको भनाई छ । बालिका करणीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ मा उल्लेख भए अनुसार १० वर्ष वा १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ बर्ष देखी २० बर्ष सम्म कैद सजाय हुने कानूनी व्यबस्था रहेको छ । प्रहरीले कानुन अनुसार कैद सजायको माग गदैं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।





