
म्याग्दी, ३१ बैशाख– बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि आफ्नो २ वटा निजी गाडी उपलब्ध गराएका छन् । नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि मेयर श्रेष्ठले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । बिहीबार नगरपालिकामा मेयर श्रेष्ठले एक चालकको खर्चसमेत आफ्नो व्यक्तिगत गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।
मेयर श्रेष्ठले उपलब्ध गराएको ग १ ज ७०६२ र ग १ ज६७६३ नम्बरको ९ सिटे जिपले संक्रमितलाई स्वास्थ्य संस्था र घरसम्म पु¥याउन प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।सवारीसाधनमा लाग्ने इन्धन नगरपालिका र एक सवारी चालकको खर्च भने नगरप्रमुख श्रेष्ठले व्यहोर्ने छन् । ‘कोरोनाको लक्षण देखिएका बिरामीको उपचारमा कुनैपनि कमी हुदैन्,२४ सै घण्टा सवारीसाधन तयारी अवस्थामा हुन्छ’, नगरप्रमुख श्रेष्ठले भने । उनले नगरवासीको सहजताका लागि उपलब्ध गराएको जानकारी दिदैं नगरपालिका भित्र कोरोना संक्रमण अन्त्य नहुँदासम्म सवारीसाधन नगरपालिकाले प्रयोग गर्ने बताए ।
दुवै सवारीमा बिरामीका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनले संक्रमतिसँगै सवार भएकालाई संक्रमण फैलिन नदिने गरी संरचनासमेत थप गर्न सकिने बताए । नगरपालिकाले वडास्तरमै पुगेर स्बाब संकलन सहित सचेतनामुलक कार्यक्रम गरिरहेको छ । हाल नगरपालिकामा रहेको सरकारी स्वामित्वका सवारीसाधनबाहेक एक भाडामा लिइएको छ भने थप २ सवारीसाधन उपलब्ध भएपछि सहज नगर कार्यपालिका सदस्य एवं सवारीसाधन व्यवस्थापन उपसमितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताए । सवारी साधन हस्तान्तरण कार्यक्रममा उपमेयर सञ्जु बरुवाल, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, स्वास्थ्य संयोजक लीला गौतम, शाखा अधिकृत यूवराज थापा लगायतको उपस्थिती रहेको थियो । जिल्लामा रहेका २०८ जना कोरोना संक्रमतिमध्ये बेनी नगरभित्र करिब १३० जना रहेका छन् ।





