पोखरा, ३ जेठ– दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष बैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुख्र्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकैबेला दाङमा निषेधाज्ञा जारी भयो, उनी त्यतै बसे ।
बैशाख मसान्ततिर सल्यानमै हुँदा स्वास्थ्यमा समस्या देखिन थाल्यो । वरपरका स्थानीय स्वास्थ्य संस्थाहरुमा केही औषधिउपचार पनि गरे । तर, अवस्था सुध्रिँदै जानुको साटो बल्झिँदै गयो ।
गाउँमा केही सीप नलागेपछि दाङ झरे । घोराहीको राप्ती लाइफकेयर अस्पतालमा राखेर ती पुरुषको उपचार सुरु भयो । कोरोना शंकामा परीक्षण पनि गरियो । तर, नतिजा नेगेटिभ आयो । कोरोना नेगेटिभ आएपछि केही सुधार हुन्छ कि भन्ने आफन्तहरु आशावादी थिए । तर, भइदियो उल्टो !
अवस्था बिग्रँदै जाँदा ती पुरुषलाई श्वास फेर्नसमेत गाह्रो हुन थालेपछि अक्सिजन दिएर उपचार गर्न थालियो । बैशाख २३ गते दिन उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीले हात उठाए, ‘फोक्सोमा पनि समस्या देखियो । अब भेन्टिलेटर भएको अस्पताल खोज्नुस् । यहाँ थप उपचार गर्न सकिँदैन ।’
नजिकै आसपासका जिल्लामा भेन्टिलेटरसहितको अस्पताल आफन्तले खोजे । तर, जताततै कोरोना महामारीले वितण्डा मच्चाइरहेको समयमा भेन्टिलेटरसहितको अस्पताल पाउनै गाह्रो थियो । अन्तिममा पोखराको एक अस्पतालमा बन्दोबस्त मिल्यो ।
दाङबाट पोखरा कसरी लैजाने ? परिवारलाई अर्को आपत् आइलाग्यो । बिरामीको अवस्था गम्भीर र एम्बुलेन्सबाट समय लाग्ने देखिएपछि आफन्तहरुले हेलीबाटै पोखरासम्म ल्याउने व्यवस्था मिलाए । उपचारका लागि पोखरा ल्याएपछि उनको पिसिआर नतिजा पोजेटिभमात्रै आएन, आइतबार उपचारकै क्रममा मृत्यु भएको छ ।
‘उपचार खर्च १५ लाख बढी, बचाउनै सकिएन’
सोमबार पोखरास्थित ग्यालेक्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका संक्रमितलाई दाङदेखि पोखरा ल्याउन हेलीमामात्रै पौने ५ लाख रुपैयाँभन्दा बढी खर्च भएको आफन्त रोमहर्ष भण्डारीले ढोरपाटनलाई बताए ।
‘यहाँ (दाङ)देखि पोखरा लैजान पौने ५ लाख रुपैयाँ जति खर्च लाग्यो । के गर्नु सास रहँदासम्म आश हुन्छ भन्छन् । मागेपछि दिनैप¥यो,’ भण्डारी भन्छन्, ‘उहाँको उपचारमामात्रै परिवारको १५ लाख रुपैयाँभन्दा बढी खर्च ग¥यौं । तर, बचाउनै सकेनौं ।’
परिवारका अन्य व्यक्तिमा भने कोरोना संक्रमण नरहेको भण्डारी बताउँछन् । संक्रमित मृतक विभिन्न सामाजिक संस्थासँग आवद्ध रहेको र त्यसैको सिलसिलामा कोरोना संक्रमण भएको हुन सक्ने उनले बताए । शवलाई दाङसम्म लैजान एम्बुलेन्स प्रयोग गरिएको र एम्बुलेन्सले एकतर्फीमै ७० हजार रुपैयाँ खर्च लाग्ने उनले सुनाए ।
ती संक्रमितको शव नगरपालिकाले नै अन्त्येष्टि तुल्सीपुर ६ का वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए । ‘उहाँको शव दाङ आउँदैछ । नगरपालिकाले नै समन्वय गरेर बबईमा शव व्यवस्थापन गर्ने कुरा छ,’ उनले भने ।
गण्डकीमा पछिल्लो २४ घन्टामात्रै २८ जना संक्रमितको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा गण्डकीकामात्रै नभई पोखरा उपचारका लागि आएका काठमाडौं, रुपन्देही, दाङलगायत जिल्लाका संक्रमितको समेत मृत्यु भएको छ ।
२४ घन्टामा २८ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोनाबाट पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु भएको छ । यो कोरोनाबाट मृत्यु हुनेहरुमा हालसम्मकै उच्च संख्या हो ।
मृत्यु हुनेमा गण्डकीकामात्रै नभई देशका विभिन्न जिल्लाबाट पोखरा उपचार गर्न आएका संक्रमितहरु समेत छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मुत्यु हुनेहरुमा स्याङजाका बढी छन् । पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ र नवलपरासीका २÷२ जनासहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जना छन् । मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।





