
बेनी, ७ जेठ– गाउँतिर संक्रमति भेटिए त्रसित हुने तथा सामान्य लक्षण देखिँदा नै संक्रमितको ट्याग लगाउनु नौलो हैन । अपमान र तिरस्कारको डरले समस्या लुकाउनुको कारण पनि यही हो । तर, म्याग्दीको एक गाउँमा कोरोना संक्रमति भएर आएकालाई गाउँलेले सम्मान र प्रोत्साहनसहित निःशुल्क भोजनको व्यवस्था मिलाएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका ३,पिप्लेमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचाररत विरामीहरूलाई स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ÷संस्थाको समन्वयमा निःशुल्क खानाको व्यवस्था गरिएको हो । कोरोना संक्रमण पुष्टि भएर आएका संक्रमतिसँगै आएका आफन्तलाई समेत निःशुल्क भोजनालय सञ्चालन गरिएको वडाध्यक्ष जीवनकुमार मल्लले बताए । ‘संक्रमतिले खानुपर्ने सबै व्यवस्था मिलाइएको छ’,उनले भने,‘घरमै बसेका संक्रमतिलाई भन्दापनि धेरै सुविधा दिने गरी समुदाय परिचालन भएका छन् ।’
अस्पतालको नजिकै रहेको मन्दिर परिसरमा सञ्चालन गरिएको भोजनालयमा स्थानीय न्यू सन्तोष सेवा यूवा क्लव, नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा, सिवाइजी क्लबलगायत स्थानीय अन्य संघसंस्थाले संक्रमतिको प्रतिरोधात्मक शक्ति बढाउने खानाहरूलाई प्राथमिकता दिएका छन् ।‘टाइम–टाइममा आवश्यक पर्ने खानाका लागि मेन्यु नै तयार गरिएको छ’, सन्तोष युवा क्लबका सचिव मुक्तिप्रसाद शर्माले भने,‘समुदायको सहयोगले संक्रमति समेत उत्साहित हुनुहुन्छ ।’
स्थानीयको अभियानमा स्वदेश तथा विदेशमा रहेका रघुगंगा बासीलेसमेत साथ दिएका छन् । स्वंयम्सेवकलले भान्सादेखि संक्रमति भएको आइसोलेसनसम्म खानासँगै तातोपानी, बेसारपानी, सुपलगायतका विरामीलाई आवश्यक पर्ने खानेकुराहरू निःशुल्क उपलब्ध गराउने गरेका छन् ।
बगरफाँटमा पनि
यता, म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ ।
बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९ जना संक्रमितले सेवा पाउनुका साथै संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगाएतका स्वास्थ्य सामग्रीहरु पनि वितरण गरिएको छ ।
बगरफाँट युवा समूहद्धारा संचालन गरिएको उक्त हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्धारा प्राप्त सहयोग रकमबाट औषधि र स्वास्थ्य सुरक्षाका सामग्रीहरु किनेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताए ।उनका अनुसार संक्रमितलाई असहज भए स्वास्थ्य संस्थासम्म लैजानका लागि एउटा गाडीको समेत व्यवस्था गरेको छ ।
बगरफाँट सदरमुकाम बेनीबजारसंग जोडिएको गाउँ भएको र यहाँ वढी आवतजावत हुने भएकाले संक्रमणको खतरा अरु ठाउँमा भन्दा बढि नै छ । अहिले यहाँ १९ जना व्यक्तिहरु कोरोनाबाट संक्रमित छन् ।





