म्याग्दी, १५ जेठ – म्याग्दीमा कोरोना संक्रमितको संख्या घटेसँगै बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षमा बिरामीको चाप विस्तारै घट्न थालेको छ । एकसाता अगाडीसम्म आकस्मिक कक्ष, ओपिडीमा प्रवेश गर्ने ढोका तथा आसपासमा क्षेत्रमा खचाखच भरिएका बिरामीको संख्या विस्तारै घट्न थालेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।
१७ जना संक्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार ५ जनाको डिस्चार्ज भएको अनमी दीपा खड्काले बताइन् । ‘हाइफ्लो अक्सिजन दिइरहेको एक जनाको अवस्था चिन्ताजनक छ । बाँकी सबै संक्रमितहरुको अवस्था समान्य छ,’ अनमी खड्काले भनिन् । केही दिनअघिसम्म हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामीको संख्या ह्वात्तै बढेको थियो ।
आइसोलेसन कक्षमा उपचाररत सबैजसो संक्रमित श्वासप्रस्वासमा समस्या भएका थिए । होम आइसोलेसनमा बसेको अवस्थामा एक्कासी शरीरमा अक्सिजनको मात्रा काम भएपछि अस्पतालमा भर्ना भएका बिरामीहरूमध्ये जटिल अवस्थामा रहेकालाई मात्रै पोखरा रिफर गरिएकोमा धेरै बिरामी अस्पतालबाटै उपचारपछि घर फर्किएका थिए । बिरामीको उपचारमा स्वास्थ्यकर्मीको खटाइबाट समेत बिरामीका कुरुवा समेत उत्साहित भएर अस्पताललाई समेत सहयोग गरी फर्किन थालेका छन् ।
दैनिक १ सयको हाराहारीम संक्रमित थपिँदा अस्पतालमा अक्सिजनसहितको उपचारमा अभाव हुने जोखिम बढेपनि हाल बिरामीको उपचारका लागि आवश्यक पर्ने सबै तयारी अवस्थामा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरणहरू खरिदमा समेत स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले समेत सहयोग गरेपछि सहज भएको अस्पतालले जनाएको छ ।
संक्रमित हुनेमा मंगला गाँउपालिकामा ६ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकाका १ जना, मालिका गाँउपालिकामा १ जना, धौलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना (एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुवेदीले बताए । शुक्रबार कोरोना महामारीको दोस्रो लहर यताकै सबैभन्दा कम ११ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ६३ जनाले कोरोनालाई जसतेका थिए ।





