बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवघाटले तोक्यो गाउँपालिका गौरवका योजना

देवघाटले तोक्यो गाउँपालिका गौरवका योजना


  • ढोरपाटन सम्वाददाता
  • असार ९ २०७८, बुधबार

तनहुँ, १० असार– देवघाट गाउँपालिकाले गाउँपालिका गौरवको योजना सार्वजनिक गरेको छ । बुधबार आठौँ गाउँ सभामा आगामी आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २२ वटा गाउँपालिकाका गौरवका योजना सार्वजनिक गरिएको हो । गाउँपालिकाको प्रशासकीय भवनदेखी वडा कार्यालय भवन, पशुपंक्षी फर्म, रंगशाला, भ्यूटावर, बालउद्यान, खानेपानी, सडक, अस्पताल लगायतका योजनालाई गौरवको योजना तोकिएको छ ।
निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले भने, ‘जनअपेक्षा तथा आवश्यकता, भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका योजनाहरुलाई गाउँपालिका गौरवका योजनाको रुपमा लिइएको छ । जसलाई उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षिय योजनाको रुपमा क्रमश श्रोत साधनको व्यवस्था गरी सम्पन्न गरिनेछ ।’
कोटामा बन्ने पशु पंक्षी विकास फर्म, कोटा रङ्गशाला, छरछरे झरना तथा पर्यटन विकास, खाल्टे रंगशाला, खाल्टे पार्क तथा वाल उद्यान, घण्टाचुली भ्यू टावर पर्यटकीय स्थल, कोटवैदी कृषि अनुसन्धान केन्द्र, जनजाती संग्राहालय कर्ताप, ऐतिहासिक प्याउली गढी कर्ताप, ऐतिहासिक सिञ्च्याङ गढी सिंच्याङ, देवघाट–साउने–कर्ताप सडक, गाईघाट– काफलडाँडा–छिपछिपे सानुभञ्ज्याङ सडक गाउँपालिकाका गौरवका योजना हुन् ।
यस्तै, सुन्तला मार्ग, खाल्टे–मास्दीघाट सडक, देवघाट एकिकृत योजना, देवघाट गाउँपालिका अस्पताल, बाख्रा, सुन्तला, तरकारी, गाई पकेट क्षेत्र, सिंच्याङ्ग पार्लाङ्ग –साराङ्गघाट सोमेश्वर मार्ग, खानेपानी योजना, गाउँपालिका प्रशासकीय भवन, वडा नम्बर १ र ५ को वडा कार्यालय भवन, कोटा चण्डुली जामुने मोटर मार्ग समेत गाउँपालिकाको गौरवको योजनामा समावेश गरेको छन् ।
गाउँपालिकाको निती तथा कार्यक्रममा पुर्वाधार बिकासलाई प्राथमिकता दिईएको छ । संघिय सरकार, प्रदेश सरकार र आफ्नै लगानीमा मोटरेबल पुल, झोलुङ्गे पुल, सडक, प्रहरी चौकी भवन, खेलमैदान निर्माण गर्र्ने उल्लेख गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणलाई पनि गाउँपालिकाको निती तथा कार्यक्रमले जोड दिएको छ । ‘कोभिड–१९ को निशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ’ गाउँपालिका अध्यक्ष थापाले बताए ।
स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन गाउँपालिका स्वास्थ्य नीति, कानून र मापदण्ड तर्जुमा गरिने जनाईएको छ । ‘दातृ निकायहरुसँगको सहयोग तथा समन्वयमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइनेछ’, निती तथा कार्यक्रममा उल्लेख छ ।
गाउँसभामा अध्यक्ष थापाले गाउँपालिकाको सवल पक्ष, कमजोर पक्ष, अवसर, चुनौतीको फेहस्ति प्रस्तुत गर्दै चालु आर्थिक बर्षको निती तथा कार्यक्रमको समिक्षा समेत गर्न भ्याए । प्राकृतिक श्रोत साधन र मानवीय पुँजी परिचालन गरी आर्थिक, सामाजिक, पूर्वाधार र सांस्कृतिक क्षेत्रको विकास गरी जनताको आयस्तर वृद्धि गर्ने लक्ष्य गाउँपालिकाको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->