मेयरको जवाफ – ‘फेवाताल थेग्नै गाह्रो भयो’
पोखरा, १४ हसार– लकडाउनको मौका छोपेर फेवातालको सिमसार क्षेत्र अतिक्रमण तीव्र भएको छ । पानीले भरिएको सिमसारलाई यतिबेला ‘भू–माफिया’ले टिपरबाट ढुंग, माटो थुपार्दै व्यापारिक भवन बनाउन लागिपरेका छन् ।
पोखरा २४ को वडा कार्यालय नजिकै महानगरकै लगानीमा फुटबल मैदान बन्दैछ । डोजर लगाएर मैदान खार्दा निस्किएका ढुंगा माटो सिमसारमा ल्याएर खन्याइएको छ । फेवातालको स्रोत हर्पनखोला पारी बनिरहेको फुटबल मैदानको ढुङ्गा माटो वारी सिमसारमा खन्याएको बारे आफुलाई केही थाहा नभएको वडाध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।
‘फुटबल मैदानबाट निस्केको ढुङ्गा माटो तल लैजाने भन्दै थिए, कताकता लगे मलाई थाहा भएन’, वडाध्यक्ष सुवेदीले भने, ‘हामीलाई एकथोक भन्छन्, अर्कोथोक गर्छन्, के के गर्छन्,यी माफियाहरु ।’ फेवाताल नजिकै सेदीमा बी एण्ड बी हाउजिङ कम्पनीले १२ तले अपार्टमेन्ट बनाउँदैछ । अपार्टमेन्ट बनाउन मनसुनले गलेको डाँडा डोजरले खारिएको छ ।
मनसुनकै बेला बाराही ग्रुपले खहरेको कुनामा रिसोर्ट बनाउन डोजर चलाएका छन् । बी एन्ड बी हाउजिङ कम्पनीका संचालक विमल वस्याल हुन् भने बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेल हुन् । यी दुबै कम्पनीले आप्mना परियोजना बनाउँदा निस्केका ढुंगा माटो सिमसार क्षेत्र पुर्न प्रयोग गरेकाछन् ।
पोखरा १८ मा पर्ने खहरे–पामे सडकखण्डको फेवा किनारमा पनि सिमेन्टको पर्खाल लगाएर ढुंगा, माटोले पुरिएको छ । त्यो माटो बाराही ग्रुपले बनाउन लागेको रिसोर्टबाट लगिएको स्थानीयले बताए । बी एन्ड बी हाउजिङले बनाउन लागेको अपार्टमेन्टको जग्गा खार्दा निस्केका ढुङ्गा माटो पोखरा २३ पामेमा पर्छ । जुन ठाउँमा पोखरा २४ को फुटबल मैदान र अपार्टमेन्ट बनाउँदा निस्केका ढुंगा माटो थुपारिएको छ । स्थानीयका अनुसार दिनरात गरेर त्यहाँ टिपरले झन्डै एक हजार खेप ढुंगा माटो खन्याएका छन् ।
सिमसार पुर्न स्थानीय विष्णु तिमिल्सिना, व्यवसायी युवराज खतिवडा लगायतको संलग्नता रहेको पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले बताए । वडा कार्यालय र महानगरबाट प्रतिवन्ध लगाउँदा आँखा छलेर उनीहरुले ढुंगा, माटो थुपारेको उनको भनाइ छ ।
‘पहिला बाटोका लागि ढुङ्गा माटो डम्पिङ गर्ने भन्यो, अर्को ठाउँमा लगेर फिलिङ गर्ने भनेर थुपा¥यो’, वडाध्यक्ष पराजुलीले भने, ‘यसरी थुपारिएको ढुङ्गा माटो डोजर लगाएर सम्याएछन् ।’ उनले सिमसार पुर्न नदिने आफुले गरेको पहल असफल भएको जिकिर गरे । सिमसार क्षेत्रमा परेको आप्mनो जग्गा पुर्न पाउँ भनेर सबैभन्दा पहिले स्थानीय विष्णु तिमिल्सना वडा कार्यालयमा अनुमति लिन पुगेका थिए । व्यक्तिगत जग्गा भएपनि सिमसार हो, पुर्न मिल्दैन, अनुमति छैन भनेर उनले फर्काइदिएका थिए ।
वडा कार्यालयले अनुमति नदिएपनि उनीहरुले काम रोकेनन् । धमाधम सिमसारमा ढुंगा माटो थुपार्न थाले । यसका लागि दर्जन टिपरमार्फत रातारात ढुंगा माटो थुपारेको वडाध्यक्ष पराजुलीले बताए । सिमसार पुर्न नछाडेपछि वडाध्यक्ष पराजुलीले महानगरका मेयर मानबहादुर जिसीलाई बोलाए ।
मेयर जिसीले पामे पुगेर सिमसारमा कुनै गतिविधि नगर्न निर्देशन दिए । तर उनीहरले टेरेनन् । आप्mनो धन्दा अघि बढाए । वडा अध्यक्ष पराजुलीले फेरी मेयर जिसीलाई बोलाए । सिमसार जोगाउन यसरी ३ पटकसम्म मेयरलाई गुहारेको उनले बताए । दुइसाता अघि मात्रै मेयर सिमसार पुर्दै गरेका ४ वटा ट्रिपरको चाबी खोसेर मेयर जिसीले लगेका थिए ।
सिमसार नपुर्न सम्बन्धित व्यक्ति र कम्पनीलाई २ पटक पत्र पठाएको पराजुलीले बताए । तरपनि सिमसार अतिक्रमण रोकिएन । वडाध्यक्ष पराजुलीले भने, ‘हामीले जति प्रयास गर्दा पनि सिमसार पुरेकै छन्, अहिले पनि आँखा छलेर ढुङ्गा माटो लगिराछन् ।’
सिमसार पुर्न स्थानीय विष्णु तिमिल्सिना, व्यवसायी युवराज खतिवडा लगायतको संलग्नता छ । वडा कार्यालय र महानगरबाट प्रतिवन्ध लगाउँदा आँखा छलेर उनीहरुले ढुंगा माटो थुपारेको वडाध्यक्षको भनाइ ।
पामेस्थित १५ रोपनी सिमसार व्यवसायी युवराज खतिवडाले भाडामा लिएका छन् । पानी भइरहने र दलदल भएर बस्ने भएकाले त्यसलाई पुरेर खतिवडाले पार्टी प्यालेस लगायत व्यावसायिक संरचना बनाउन खोजेका छन् । यसका लागि वडा कार्यालयमा अनुमति लिन खतिवडाले आप्mना प्रतिनिधि पठाएका थिए । त्यतिबेला पनि सिमसारमा कुनै निजी संरचना बनाउन नपाइने भनेर पराजुलीले रित्तै फर्काइदिएका थिए ।
पोखरा महानगरको नितिमा फेवाताल वरिपरि रहेको बाटोभन्दा तलतिर कुनै पनि निजी वा सार्वजनिक संरचना बनाउन पाइँदैन । महानगरले ती संरचना निर्माणको अनुमति दिएको छैन भने महानगरमा दर्तासमेत छैन ।
पोखरा महानगर बन्नुअघि गाउँ विकास समिति हुँदा अनुमति लिएर बनेका बाहेक महानगर भएपछि बनेका सबै संरचना अवैध रहेको वडाअध्यक्ष पराजुलीले बताए । ‘बाटोभन्दा तल सिमसारमा घर बनाउन पाइदैन, नक्सा पास नै हुँदैन’, पराजुलीले भने, ‘धमाधम सिमसार क्षेत्रमा पनि घर बनाइरहेका छन्, महानगरले कारबाही गर्न सकेन ।’
फेवाताल संरक्षण गर्न अधिग्रहण गर्ने भनिएको जग्गाको लालपूर्जासमेत फुकुवा भएको छैन । महानगरले कागजी रुपमा संरक्षणका लागि जग्गा रोक्कादेखि नक्सा नै नदिने नीति लिएपनि भू–माफियाका प्लटिङ परियोजना र अन्य व्यावसायिक योजना भने अहिले पनि जारी छ । जसले मनसुनकै बेला पानीमाथि ढुङ्गा माटो खन्याएर भवन ठड्याउन खोजिरहेका छन् ।
सिमसार क्षेत्रमा हजार ट्रिपर ढुङ्गा माटो खन्याएपनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन । कारबाहीका नाममा चार वटा ट्रिपरको चाबी खोस्दा तिनीहरुलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको पोखराका मेयर मानबहादुर जिसीले बताए । यसरी जरिवाना मात्र लिएर कारबाही नपुग्ने वडाध्यक्ष पराजुलीले बताए ।
‘सिमसारमा खन्याएका सबै ढुङ्गा माटो झिकेर अन्तै लैजानुपर्छ, नत्र जरिवाना तिरेर पनि फेरि ल्याउँछन’्, उनले भने, ‘सिमसार अतिक्रमण टोटल्ली बन्द गर्न अब कडा रुपमा उत्रनुपर्छ ।’ पोखरा–१८ खपौंदीका वडाध्यक्ष रणबहादुर थापा पनि सिमसार क्षेत्र पुर्ने गिरोहसँग लड्दा आप्mनो केही नलागेको निरीहता पोख्छन् । सेदीमा बाराही ग्रुपको रिसोर्ट र बी एण्ड बी हाउजिङको अपार्टमेन्टको माटो अन्यत्र लैजाने भनेर सिमसार पुरेको उनको भनाई छ ।
यसरी दिन दुई गुणा रात चौगुणाका दरले रामसार सुचीमा सुचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार पुरिँदैछ । यसरी पुरिएका माटो अन्ततः फेवातालमा आइपुग्ने विज्ञहरु बताउँछन् । ‘सिमसार पुर्नु भनेकै फेवाताल पुर्नु हो’, फेवाताल माथि विद्यावारिधि गरेका देवेन्द्रबहादुर लामिछानेले भने, ‘सिमसारमा ढुंगा माटो खन्याउँदा दलदल परेको भाग तालतर्फ बग्छ, अहिले त्यहाँ खन्याइएको ढुंगा माटो अन्ततः तालमै आइपुग्ने हो ।’
३० वर्षअघिसम्म तालै थियो, फेवाफाँट
पामेका स्थानीय ठाकुर विकलाई अहिले पनि सम्झना छ, भर्ति हुन गएर फर्कदा पैसा सकिएपछि बाराहीघाटबाट डुंगा चढेर पामे पुगेका थिए । त्यतिबेला फेवाताल किनारैकिनार मोटरबाटो थिएन । पैदल बाटो पनि प्रचलनमा थिएन । फेवाताल पारीका मासिन अहिले पनि वारी लेकसाइड वा पोखरा बजार आउँदा डुंगामा आउँछन्, त्यसरी नै पामेतिरका मानिस पनि डुंगाबाटै पोखरा आउने चलन रहेको विकले बताए ।
ढुङ्गा माटोले पुरिन बाँकी रहेका सिमसार क्षेत्रमा घाँस काटिरहेकी ५१ वर्षीया पार्वती सुवेदी पनि आफू पामेसम्मै डुंगा चढेर गएको बताइन् । उनको पुख्र्यौली घर कास्कीकै रुपामा थियो, उनी पामेमा दिदीको घर आउँथिन् । अहिले उनी पनि पामेमै बस्छिन् ।
ढुंगा माटोले पुरिएको ठाउँलाई त्यतिबेला ‘डुंगाघाट’ भनिएको पार्वतीले बताइन् । उनले भनिन्, ‘यो ठाउँलाई पहिला–पहिला डुङ्गाघाट भन्थ्यो, यहाँबाट पोखरा जान डुंगा पाइन्थ्यो । पोखराबाट आएको डुंगा पनि यहीं रोकिन्थ्यो ।’
त्यतिबेला डुङ्गा नचढी पोखरा आउँदा दलदल परेको सिमसारको बाटो हिड्नुपर्ने संरक्षणकर्मी कृष्णमणि बरालले बताए । ‘सिमसारमा बाटो हिँड्न आँठो थियो, त्यतिबेला त्यही आँठोको बाटो भएर हिँड्नुपथ्र्यो,’ बरालले भने, ‘बाटो हिँड्दा हिलैहिलो हुने भएकाले डुंगाबाटै पामे आउजाउ गर्नुपथ्र्यो ।’
फेवातालको पानी भएको अहिलेको सिमानाबाट पार्वतीले डुङ्गाघाट भनेको स्थान धेरै माथि छ । अहिले फेवाताल खपौंदी स्थित प्याराग्लाइडिङ ल्यान्ड गर्ने चौरदेखि ड्यामसाइडसम्म छ । जबकि, खपौदीदेखि पामेसम्म पार्वतीले भनेको डुंगाघाटसम्मको क्षेत्र अहिलेको फेवाताल भन्दा दोब्बर ठूलो र फराकिलो छ ।
फेवाताल विज्ञ डा. देवेन्द्रबहादुर लामिछाने पनि उक्त क्षेत्रलाई अझै फेवातालकै नाममा राख्नुपर्ने बताउँछन् । ‘सम्पूर्ण फेवाफाँट पहिला ताल थियो, अहिले सबै खोला र मानिसले पुरेका हुन,’ उनले भने, ‘सरकारले फेवाताल जोगाउने हो भने त सबै फेवाफाँट तालकै नाममा जानुपर्छ ।’
सरकारले राष्ट्रिय प्राथमिकताका योजनामा पारेर ३२ साल अघिको लालपूर्जा भएका जग्गाधनीलाई उचित मुआब्जा दिएर क्रमशः सिमसार क्षेत्र तालको नाममा ल्याउनुपर्ने उनको भनाइ छ । ३२ सालपछि दर्ता भएका जग्गा भने खारेज हुनुपर्ने उनले बताए । जुन सर्वोच्च अदालतको फैसलाले समेत आदेश दिएको छ ।
संविधानमा सिमसार क्षेत्र संघीय सरकार मातहत राखिएको छ । वन मन्त्रालय अन्तर्गत पर्ने सिमसार क्षेत्र संविधान जारी भएपछि कयौं मन्त्री फेरिए, अहिलेसम्म कसैले फेवातालको नामसमेत उच्चारण गरेनन् । उनीहरुले सिमसार संरक्षण र उपयोगको अधिकार स्थानीय तह पोखरा महानगर वा प्रदेश सरकारलाई हस्तान्तरण पनि गरेनन् । दिनरात भइरहेको फेवाताल र सिमसार क्षेत्रको अतिक्रमण रोक्न पोखरा महानगरले मात्रै नसक्ने मेयर मानबहादुर जिसीले बताएका छन् । उनले भने, ‘फेवाताल हामीलाई थेग्नै गाह्रो भा’छ ।’





