
पोखरा, १६ असार – नेकपा एमालेको वैठकमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगत विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। बालुवाटारमा बुधबार भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका शिक्षा मन्त्रीले श्रेष्ठले गल्ती गरेकाले आत्मआलोचना सहित मन्त्रीबाट राजिनामा दिनुपर्ने माग विश्वकर्माले गरेका हुन् ।
‘रूपा सुनारको मुद्दामा एमालेको वरिष्ठ केन्द्रीय सदस्यले जे व्यवहार देखाउनु भयो त्यो दुस्खद र खेदजनक छ। यसले जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुर्याएको छ,’ विश्वकर्माले बैठकमा भने, ‘यस्ता कुराले नेपाल एमालेप्रतिको आशा विश्वास पनि धुमिल बनाउन सक्छ। त्यसैले उहाँले आत्मआलोचना सहित राजिनामा गर्नुपर्छ।’

फाइल तस्वीर: शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ ।
श्रेष्ठ अहिले पनि मन्त्री कायम रहेकाले उनले तत्काल राजीनामा दिनुपर्ने आफूले सुझाव दिएको विश्वकर्माले बताए।
‘मन्त्रीका रूपमा पनि उहाँ सबैको अभिभावक बन्न सक्नुभएन। व्यक्तिगत रूपमा मेरो उहाँसँग आत्मिय सम्बन्ध भए पनि उहाँले उच्च नैतिकता प्रदर्शन गरेर राजीनामा दिनुपर्छ भन्ने मैले सुझाव दिएँ,’ विश्वकर्माले भने।
जवाफमा प्रधानमन्त्री ओलीले श्रेष्ठले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताएको जानकारी दिए। वैठकमा सहभागी शिक्षा मन्त्री श्रेष्ठले भने कुनै प्रतिक्रिया दिएनन् । बैठकमा केन्द्रिय सदस्य बमबहादुर विश्वकर्माले पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए।
मन्त्री श्रेष्ठले रूपा सुनारलाई थरकै आधारमा कोठा नदिएको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमा पुगी उनलाई सरकारी गाडीमा लिफ्ट दिएर घरसम्म छाडेका थिए ।
एमाले बैठकले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाएको छ ।





