पोखरा, २२ असार– गण्डकी सरकारको अघिल्तिर बजेट पारित,मन्त्रिपरिषद्को कार्यभार वितरण तथा बिस्तारको मुख्य जिम्मेवारी छ । असार ४ गते विश्वासको मत लिएका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफूसँगै सपथ खुवाएका ४ मध्ये २ जना मन्त्रीलाई विनाविभागीयमै थन्क्याएका छन् । कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले क्रमशः सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थमाएपनि स्वतन्त्र दीपक मनाङे र जनता समाजवादीका हरिशरण आचार्यले कुन मन्त्रालय पाउने निश्चित छैन । यसअघिका मुख्यमन्त्रीले सत्ता टिकाउन बनाइदिएको ११ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न पाउने अवसरलाई उनले सरकारको प्रभावकारिता बढाउने काममा उपयोग गरेकै छैनन् । मनाङका बाढीपहिरो पीडितलाई राहतवितरण बाहेक बधाई र शुभकामना थाप्दै गरेका मुख्यमन्त्री नेपालीको मन्त्रिपरिषद्ले देखिने गरी खासै काम गरेको छैन ।
उनै मुख्यमन्त्री मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने सिलसिलामा संचारकर्मीमाझ झुल्किए । आफ्नो सरकारबारे खासै धेरै कुरा नगरेका उनले बजेट तयार भइरहेको र बजेट पारित भएसँगै सरकारलाई पूर्णता दिने बताए । उनका अनुसार बजेटबारे छलफल गर्न असार २५ गतेदेखि सदन बोलाउन सभामुखलाई आह्वान गरिने छ । लगत्तै उनले मन्त्रिपरिषद्का निर्णय सुनाउन प्रवक्ता कुमार खड्कालाई जिम्मा लगाए ।





