मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘अध्यारो कोठाबाट एउटा व्यक्ति शासन चलाईरहेछ’

‘अध्यारो कोठाबाट एउटा व्यक्ति शासन चलाईरहेछ’

पूर्वमुख्यमन्त्री गुरुङ भन्छन्: भ्रष्टाचारको अभियानमा गण्डकी सरकार


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७८, आइतबार

पोखरा, २७ असार– नेपाली कांगेस नेतृत्वको गण्डकी सरकार भ्रष्टाचारको अभियानबाट सुरु भएको पूर्वमुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । सरकारले कार्यकर्ता पोस्न १६ करोड रुपैया गैरबजेटरी विनियोजन गरेर १० दिनमा सक्न खोजेको भन्दै उनले नीतिगत भ्रष्टाचारको सुरुवात भएको टिप्पणी गरे ।
गण्डकी सरकारले रातो किताबमा उल्लेख नरहेका डेढ सय योजनामा असार दोस्रो साता बजेट विनियोजन गरेको थियो । ‘योजनामा बजेट विनियोजन गरेर मात्र हुँदैन, टेण्डर गर्न प¥यो, नभए उपभोक्ता समिति गठन गर्नुपर्ने होला’, गुरुङले भने, ‘१० दिनमा यो सम्भव हुँदैन, जिल्लाका सभापति बोलाएर जथाभावी विनियोजन गरेका हुन् ।’
गण्डकीमा सरकार फेरिएपछि आर्थिक वर्ष सकिन १० दिनमात्र बाँकी छँदा गठबन्धन सरकारका सांसदहरुका मागका आधारमा गैरबजेटरी विनियोजन गरेको नयाँ सरकारको आरोप लगाएसँगै पूर्वमुख्यमन्त्रीको यो भनाई सार्वजनिक भएको हो । सरकारका प्रवक्ता एवं सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार छाड्ने बेला गुरुङ नेतृत्वको सरकारले साँढे ४ अर्बको ठेक्का लगाएको आरोप लगाएका थिए ।
एमाले संसदीय दलका नेता गुरुङले मन्त्री खड्काले लगाएको आरोप मिथ्या भएको दाबी गरे । मन्त्री खड्काले देखाएका १० वटा योजना सरकारको रातो किताबमा भएको र नियमित रुपमा बजेट विनियाोजन गर्दै आएको दाबी गर्दै गुरुङले चैतमै ती योजनाहरु टेण्डरमा गएको बताए ।
‘नेपाल सरकारले दिने समपुरक अनुदानबाट आधा–आधा खर्च व्यहोर्ने गरी ती १० वटा योजना अघि बढाएका हौं,’ गुरुङले भने, ‘यी योजना अघि बढेन भने नेपाल सरकारबाट आउने समपुरक अनुदान पनि काटिन्छ ।’ सरकारसँग सम्झौता भएर स्रोत सुनिश्चित गरेर मात्र ठेक्का प्रक्रिया अघि बढाएको उनले बताए । सरकारले भ्रष्टाचारको सुरुवात गरेको भन्दै त्यसलाई ढाकछोप गर्न झ्याली पिटेको गुरुङले आरोप लगाए ।
गण्डकी सरकारले यसअघि पञ्चवर्षीय योजना, मध्यकालीन योजना र दीगो विकासका लक्ष्यलाई ध्यान दिएर विकासका अभियान अघि बढाएको भन्दै त्यसलाई तलमाथि गर्न नदिने उनले बताए । नेकपा एमाले गण्डकी संसदीय दलको कार्यालयमा पत्रकार भेटघाटमा बोल्दै नेता गुरुङले सरकारमा जोसुकै आएपनि अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताए ।
‘पृथ्वीसुब्बा गुरुङको सरकार होस् कि कृष्णचन्द्र नेपालीको सरकार ठुलो कुरा होइन, प्रदेशको कुरा छ’, उनले भने, ‘अघिल्ला सरकारले गरेका राम्रा काम अघि बढाउनुपर्छ ।’ प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा, उज्यालो प्रदेश, निर्वाचन क्षेत्र सडक लगायतका योजना अघि नबढे आफूहरु चुप लागेर नबस्ने उनले चेतावनी दिए ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले असार १ गते संसदमा बजेट पेश गरेपछि अहिलेसम्म छलफल हुन सकेको छैन । बजेटमाथि छलफल गर्न सरकारले आज आइतबार संसद बैठक बोलाएको छ । सरकारले ल्याउने रातो किताब हेरेर बजेटमाथि समर्थन वा विरोधको नीति लिने गुरुङले बताए ।
कांग्रेस नेतृत्वमा सरकार बन्दा नेपालमा धेरै भ्रष्टाचार भएको भन्दै उनले फेरी त्यही युग ल्याउन खोजेको आरोप लगाए । उनले भने, ‘१५ सालमा सरकार चलाउँदादेखि उहाँहरुको बानी बसेको छ । २०४८ देखि २०५९ सालसम्म नेपालमा भ्रष्टाचारको युग थियो । फेरि भ्रष्टाचारको त्यही युग ल्याउने हो भने यस्ता काम गर्नुहोला ।’
आप्mनो नेतृत्वको सरकारले ल्याएको बजेट र आवधिक योजनाहरु काँग्रेससहित दलहरुको सहमतिमा ल्याएको भन्दै उनले उक्त योजनाहरुले निरन्तरता पाए राजीखुसीले स्वागत गर्ने बताए । गण्डकी सरकारले ल्याएका राम्रा योजना अरु प्रदेश र संघीय सरकारले पनि पछि अनुकरण गरेको भन्दै उनले ती योजनाले निरन्तरता नपाए कठोर रुपमा उभिने चेतावनी दिए ।
‘गण्डकीमा रहेका ६० जना सांसदमध्ये एमालेका २७ जनाको ‘डल्लो’ एकै ठाउँमा बसेको छ भन्ने सरकारले बुझ्नुपर्छ,’ उनले भने, ‘सुशासनका लागि कुनै कसर राख्दैनौं, कुनै तलमाथि हुन दिँदैनौं ।’
प्रदेश सरकारले अहिले अनेक दाउ हेरिरहेको समेत उनले दाबी गरे । ‘विश्वासको मत लिन एउटा दलसँग गरेको सहमतिमा मत पाएपछि धोका दिए’, उनले भने, ‘अब दोस्रो ठूलो दललाई पनि बजेट पास भएपछि धोका दिनेछन् ।’
प्रदेश सरकारले विश्वासको मत लिन लाग्दा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समाजवादी पार्टीलाई अर्थ मन्त्रालय दिने समझदारी गरेको थियो । विश्वासको मत लिएपछि अर्थ मन्त्रालय जसपालाइ नसक्ने बताएको थियो । अब सरकारका दोस्रो ठुलो दल माओवादी केन्द्रलाई पनि धोका हुन सक्ने गुरुङले जिकिर गरेका हुन् ।
मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइप्रति संकेत गर्दै उनले मुख्यमन्त्री कहाँ छन् कतै नदेखिएको उनले टिप्पणी गरे । उनले भने, ‘अँध्यारो कोठामा बसेर एउटा व्यक्तिले शासन चलाइरहेका छन् । कुखुराको बानी रछ्यानको फोहोर खोस्रने हुन्छ । बाजको बानी माथिबाट हेर्छ दूरदर्शी हुन्छ । उहाँहरु कुखुराले झैं रछ्यान खोस्रनुभएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->