पोखरा, २७ असार– विपक्षीको अवरोधपछि गण्डकी प्रदेश सभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सभाको बैठकको सुरुमै प्रतिपक्षी दलका नेता तथा पूर्वमन्त्री रामशरण बस्नेतले नयाँ सरकारले आफ्ना कार्यकर्ताहरुलाई विभिन्न योजनाको नाममा रकम बाँडेको आरोप लगाउँदै त्यसको सत्य तथ्य बाहिर नल्याएसम्म सदन चल्न नदिने जानकारी गराएका थिए ।
विपक्षीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले दिउसो १ बजेसम्मको लागि अधिवेशन स्थगित गरेका छन् । लामो सत्तायात्रापछि विपक्षमा आएको एमालेले बजेटबारे छलफल तय गरिएको पहिलो दिन नै सदन अवरुद्ध पारेर आउँदा दिन अझ आक्रामक हुने छनक दिएको छ । यसअघि कृष्णचन्द्र नेपाली सरकारले आफ्ना कार्यकर्तालाई १६ करोडभन्दा बढी गैरबजेटरी रकम बाँडेर आर्थिक अनियमितता गरको विपक्षीको आरोप छ ।





