पोखरा, ३० असार– विपक्षीका अवरोधकाबीच गण्डकीमा मार्सल लगाएर बजेट पारित गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेको जानकारी दिएसँगै प्रतिपक्षी दल नेकपा एमाले नाराबाजी गर्दै अवरोध गरेको थियो । नेकपा एमाले सांसद नाराबाजी गर्र्दै अघि बढेपछि मार्सल लगाएर रोकिएको थियो ।
विरोधका क्रममा पूर्व भौतिक, पूर्वाधारमन्त्री रामशरण बस्नेतले टेबल उठाएरसमेत फालेका थिए । विपक्षीको नाराबाजीबीच नै सभामुखले सदन चलाएपछि उनीहरु सभाहलबाट बाहिरिएका थिए । प्रतिपक्षी बाहिरिएसँगै बहुमतबाट आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दलले बुधबार बिहान मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र नेपालीलाई बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पेश गरेका थिए । उनीहरुले उक्त विषयको जवाफ नदिई सदन चल्न नदिने बताएका थिए । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि केही समयका लागि सदन सुरु भएको थियो ।
३ पटकसम्म सदन रोकिएपछि साँझ ४ बजेबाट पुनः सुरु भएको बैठकमा पनि विपक्षीले अवरोध जनाएपछि मार्सल लगाएरै बजेट पारित गरिएको हो । बजेट बहुमत पास भएसँगै सभामुख अधिकारीले अर्को सूचना नआउँदासम्मका लागि सदन स्थगित भएको जानकारी दिए ।
असार १ गते सरकारले ल्याएको बजेटमा सत्ता साझेदारी नमिल्दा असार २७ गतेबाटमात्रै छलफल सुरु भएको थियो । तर, प्रतिपक्षी दल नेकपा एमालेले सरकारले गैर बजेटरी विनियोजन गरेको १६ करोड रुपैयाँ बजेटको सम्पूर्ण विवरण सार्वजनिक हुनुपर्ने माग राख्दै अवरोध गरेको थियो ।
विपक्षीले अवरोध गरेपछि २८ गतेसम्मका लागि सदन स्थगित भएको थियो । २८ गतेको बैठकमा पनि सोही एजेन्डा उठाउँदै अवरोध गरेपछि छानविनका लागि संसदीय समिति गठन गर्ने सहमतिसँगै सदन सुचारु भएको थियो । संसद सचिवालयमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच छानविन समिति गठन गर्ने सहमति भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउने सहमतिसँगै अर्थमन्त्रीसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बैठकलाई सम्बोधन गरेका थिए । उनले सोही दिन बजेट विनियोजन विधेयक पेश गरेका थिए ।
२ वर्षपछि दोहोरिएको ‘मार्सल’
२ वर्षअघि तत्कालीन नेकपाको सरकार थियो । हाल सरकार चलाइरहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिका थियो । हाल नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व लिएका थिए ।
२ तिहाइ सरकारले ल्याएको बजेटमा विरोध गर्र्दै त्यतिबेला कांग्रेसको विरोधका बाबजुद् नेकपाले मार्सल लगाएरै २ विधेयक पेश गरेको थियो । प्रदेश सभामा मार्सल प्रयोग गरिएको त्यो पहिलो घटना थियो ।
तत्कालीन समयमा नेकपा सरकारले कांग्रेसको अवरोध र नाराबाजीबीच तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
बजेट ल्याउन २ दिनमात्र बाँकी रहँदा सरकारले विधेयक ल्याएको र आफ्ना मागहरु सम्बोधन नभएको भन्दै कांगे्रसले विरोध गरेको थियो । तोकिएको समयमा बजेट ल्याउन नदिन कांग्रेसले तत्कालीन समयमा अवरोध सिर्जना गरेको थियो ।
तत्कालीन समयमा पनि उक्त विधेयक पेश नभएको खण्डमा अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता आइपरेकाले आफूहरुले मार्सल लगाएरै विधयेक पेश गरेको तत्कालीन अर्थमन्त्री गुरुङले तर्क राखेका थिए ।
त्यसको २ वर्षपछि प्रतिपक्षी दलले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै अवरोध गरेको हो । मार्सल लगाएर विधेयक प्रस्तुत गरिएपछि प्रमुख प्रतिपक्षी दलले सदन बहिस्कार गर्दैै बाहिरिएको थियो । गण्डकीमा मार्सल लगाएरै सदन चलाएको यो दोस्रो घटना हो ।
प्रतिपक्षले भन्यो ः टेबुल फालेको होइन, मिलाएको !
नेकपा एमाले गण्डकीका सांसद एवं पूर्वमन्त्री रामशरण बस्नेतले टेबुल उठाएर हान्न आफुसँग तागत भएको चेतावनी दिएका छन् । ‘टेबुल उठाएर हान्न तागत नभएको होइन,’ उनले भने, ‘कुनै नियतवस होइन, भीडभाड भएर टेबुल उठाएर अन्त सारेको हो ।’
टेबुल उठाएर विपक्षीलाई हान्न खोजेको र फालेको भनेर आप्mनो चरित्र हत्या गर्न खोजेको भन्दै उनले संचारकर्मीलाइ विपक्षी दलमा आवद्ध भएपनि सच्याउन आग्रह गरे ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले पनि गण्डकी प्रदेश सभामा रहेका एमालेका २७ जना सांसद बलियो भएको बताए । ‘हामीले टेबुल उठाएर हानेको भए सकिन्थ्यो, तर त्यस्तो काम गरेनौं’, उनले भने, ‘त्यसो गर्ने हो भने हाम्रो २७ जना सांसदले गर्न सक्नुहुन्छ ।’
एमाले संसदीय दलको कार्यालयमा पत्रकार भेटघाटमा बाल्दै बस्नेत र अधिकारीले संसद अवरोध गर्ने क्रममा सत्तारुढ सांसद विन्दुकुमार थापा हातपात गर्न आएकोसमेत आरोप लगाएका छन् । आन्दोलनमा घुसपैठ गरेर हातपातमा उत्रिएपनि आफुहरुले मौखिक रुपमा प्रतिवाद गरेको सचेतक अधिकारीले बताए ।
‘संसदीय मर्यादा अनुसार नै हामी सदन अवरुद्ध गर्न खोज्दा मार्शल लगाइयो’, एमाले गण्डकीका सचेतक अधिकारीले भने, ‘सत्तापक्षका सांसद विन्दु थापा आएर धकेलाधकेल गर्नुभयो, हातपात गर्न थाल्नुभयो ।’
नेपाली कांग्रेसका सांसद थापाले भने आफुले अप्रिय घटना हुन नदिन आफुले सहजीकरण मात्र गरेको बताए । ‘सभामुखले मर्यादापालक अगाडि बढाएर बजेट पास गर्न लाग्नुभयो, एमालेका सांसद रामशरण बस्नेत र राजीव पहारी आक्रोशित भएर मुख्यमन्त्रीलाई धकेलाधकेल गर्न खोज्नुभयो’, उनले भने, ‘अप्रिय घटना घट्छ कि भन्ने हिसाबले मुख्यमन्त्रीलाई पोडियमसम्म जान मैले सहजीकरण मात्र गरेको हुँ ।’
एमालेको अवरोधका बाबजुद सरकारले आगामी वर्षका लागि संसदमा पेश गरेको बजेट पारित भएको छ । सांसदलाई मार्शल लगाएपछि एमाले सांसदहरु नाराबाजी गर्दै बाहिरिएका थिए । प्रतिपक्षी दलका सांसद उपस्थिति नभएकै अवस्थामा सदनबाट बजेट पारित भएको हो ।
सरकार र सभामुखप्रति आक्रोश
सरकारले आगामी बर्षका लागि ल्याएको बजेटमा विगतका क्रमागत योजना र कार्यक्रम काटिएको भन्दै एमालेले सदन अवरुद्ध गरेको थियो । बजेटमा रहेका त्रुटी सच्याउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुधबार बिहानै १० बुदे ध्यानाकर्षण पत्र बुझाएको अधिकारीले बताए । मुख्यमन्त्री पोखरेलले विगतका योजनालाई निरन्तरता दिने बताएपनि सुधार नभएकाले सदन अवरुद्ध पार्नुपरेको उनको भनाइ छ ।
प्रतिपक्षी दलले सदन अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले मार्शल लगाएर सदन अगाडी बढाएको र सहमतिका लागि कुनै भुमिका नखेलेको पूर्वमन्त्री बस्नेतले बताए । सभामुख अधिकारीले मर्यादा राख्न नसकेको र एउटा दलको कार्यकर्ताका रुपमा चलेको समेत उनले आरोप लगाए ।
सरकारले आगामी बर्षको बजेट ६७८ योजनामा वितरण गरेको भन्दै बजेट वितरण पनि कार्यकर्ता केन्द्रित भएको बस्नेतले बताए । उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री थिए ।
सरकारले ल्याएको रातो किताबमा ६७८ वटा योजनामध्ये १९२ वटा योजना एउटा मात्रै निर्वाचन क्षेत्रमा भएको र एउटा वडामा मात्रै ९ वटा योजना राखेको बताए । तर, मुस्ताङ सिङ्गो जिल्लामा ५ वटा योजना मात्रै रहेको भन्दै बजेटको वितरण अस्वभाविक भएको बताए ।





