पोखरा, ३ साउन– गण्डकी प्रदेशका प्रमुख सचिव डाक्टर दामोदर रेग्मीले पाल्पाको विकासका ३ आधार पस्केका छन् । उनले शिक्षा, स्वास्थ्य र पर्यटन पाल्पाको विकासका आधार भएको बताए ।
पाल्पाली समाज समाज पोखराले उनको स्वागतमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख सचिव डा. रेग्मीले सो कुरा बताएका हुन् । पाल्पाका १० पालिकासँग आपसी समन्वय गर्दै पाल्पाली समाज पोखरा अघि बढ्नुपर्ने उनको सुझाव छ । उनले कर्मघर जहाँ भए पनि जन्मघर भुल्न नहुने र आफ्नो पेसा व्यवसायमा इमानदारीपूर्वक लाग्नुपर्ने बताए ।
यसै साता गण्डकीमा प्रमुख सचिवको रुपमा सरुवा भई आएका रेग्मीको मुलघर पाल्पाको तानसेन, बर्तुङ हो । पोखरामा उनी २०६९ सालमा पनि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक रहेका थिए । अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनलाई मन्त्रिपरिषद्को असार १७ को बैठकले बढुवा गरेको थियो । यसअघि उनी स्वास्थ्य मन्त्रालयका सहसचिव थिए ।
कार्यक्रममा समाजका अध्यक्ष रेशम रचक थापाले २२ बुँदे वार्षिक प्रस्तावित कार्यक्रम सार्वजनिक गरे ।





