तनहुँ, ५ साउन– तनहुँ र बाग्लुङबाट लागु औषध सहित ४ युवा पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तनहुँ र बाग्लुङबाट २÷२ जना पक्राउ परेका हुन् ।
तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार चोकबाट पर्वतका दुई युवा प्रकाउ परेका छन् । दिउँसो ४ बजेपछि बुटवलबाट पोखरा आउदै गरेको यात्रुवहाक बसमा चेकजाँच गर्दा १ सय ३८ एम्पुल सहित ती युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–५ बस्ने २६ बर्षीय विकु मगर र कुश्मा–१० बस्ने उमेशी क्षेत्री रहेका छन् ।
उनीहरुको साथबाट फेनेरागन ४६ एम्पुल, डाईजापाम ४६ एमपुल र नुरफिन ४६ एम्पुल बरामद गरिएको छ ।
यस्तै, बाग्लुङ नगरपालिका–३ चिप्लेटी बसपर्काबाट पनि प्रहरीले १ जनालाई पक्राउ गरेको छ । मोटरसाईकलमा सवार बाग्लुङ–४ का २२ बर्षीय रोहन पुरी र २१ बर्षीय प्रताप क्षेत्रीको साथबाट २ सय ५० थान ट्रामाडोल प्रहरीले फेला पारेको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।





