पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ नौडाँडामा चितुवा देखियो । गाउँलेले लखेट्न खोजे तर ४ दिनसम्म चितुवा गाउँ वरपर नै घुमिरह्यो । स्थानीयले वन कार्यालय कास्की गुहारे । वनका कर्मचारीलाई पनि चितुवाले टेरेन । चितुवा पाउँदुरतिर लाग्यो ।
समात्नको लागि सामान थिएन, मार्न नमिल्ने !लखेट्दै जाँदा चितुवा बाटो छेउको हिमपाइपमा पस्यो । हिमपाइपको अर्को छेउमा वन प्राविधिकले फलामे खोर जोडे । यताबाट लखेट्दा चितुवा खोरमा पस्ला भनेर ढुकेर बसे । अहँ, चितुवा मरिगए खोरमा पसेन । चितुवा घाइते थियो । कर्मचारीले हिम्मत गरेर हातैले चितुवालाई हिमपाइपबाट ताने र नियन्त्रणमा लिए । जिल्ला वन कार्यालय कास्की प्रमुख केदार बरालका अनुसार चितुवाको घाँटीमा दाउले हानेको जस्तो घाउ छ । घाइते चितुवाको पोखराको पचभैयास्थित वन्यजन्तु उपचार केन्द्रमा उपचार भइरहेको छ ।
वन कर्मचारीले चितुवासँग पौंठेजोरी खेलेको यो पहिलो घटना भने हैन । ३ वर्षअघि पोखराको बगरस्थित एउटा डिपार्टमेन्टल स्टोरमा छिरेको चितुवालाई पनि कर्मचारीले खाली हात नै पक्रेका थिए । त्यो बेला भने,शुक्रबारको जस्तो सजिलो भएन । चितुवाले चिथोर्दा वन कर्मचारी घाइते बने । लामो समय अस्पतालमा बिताए ।
पोखराकै मियाँपाटनमा २ वर्षअघि स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा छिरेको चितुवा नियन्त्रणमा लिन खोज्दा तत्कालीन जिल्ला वन कार्यालय प्रमुख रामजी श्रेष्ठसहितको टोली घाइते भएको थियो । तनहुँमा तीन वर्षअघि चितुवाकै आक्रमणमा १० जना बालकालिकाले ज्यान गुमाएपछि तात्तिएका वन कर्मचारीले खतरा मोलेरै ९ वटा चितुवा नियन्त्रणमा लिएका थिए ।
पहाडी क्षेत्रमा चितुवा आतंक बढ्दो छ । चितुवा गाउँ पसेका छन् । चितुवा गाउँ पसेसँगै चितुवा–मान्छेबीच द्वन्द्व बढ्दै गएको छ । चितुवालाई वनमै फर्काउनुपर्ने चुनौति बढेको छ । तर,हिंश्रक चितुवा नियन्त्रणको जिम्मा पाएका वन कार्यालयहरुसँग सुरक्षा सामग्रीको भने अभाव छ । हिंश्रक वन्यजन्तुलाई नियन्त्रणमा लिन टाढैबाट लठ्याउने ओखतीसहित गोली ठोकिन्छ । गोली शरीरमा लागेपछि ओखतीले काम गर्छ र वन्यजन्तु लठ्ठिन्छ । लठ्ठिएको वन्यजन्तुलाई त्यसपछि सजिलै नियन्त्रणमा लिइन्छ । डार्टिङ भनेको लठ्याउने औषधि भएको बन्दुक नै हो । जिल्ला वन कार्यालयहरुसँग भने डार्टिङ गन नै छैन ।
‘हिंश्रक वन्यजन्तु व्यवस्थापनका लागि आवश्यक डार्टिङ गनसहित जनशक्ति हामीसँग छैन,’ वन कार्यालय कास्कीका प्रमुख बरालले भने,‘कुनै दिन यो जोखिमपूर्ण कामको शिकार वन कर्मचारी नहोला भन्न सकिँदैन ।’उनका अनुसार वन्यजन्तु नियन्त्रणका लागि डार्ट गनसहित विशेषज्ञ चितवन राष्ट्रिय निकुञ्ज वा जाउलाखेलस्थित चिडियाखानाबाट बोलाउनुपर्ने अवस्था छ । गण्डकीका जिल्लाहरुले चितवनबाट डार्ट गनसहितको टोली मगाउने गरेको छ । यसरी बोलाउँदा ३ दिनसम्म समय लगाउने गरेको उनले बताए । राष्ट्रिय निकुञ्जले पनि अन्य जिल्लामा वन्यजन्तु नियन्त्रण गर्न जाँदा वन विभागसँग स्वीकृति माग्नुपर्छ । प्रक्रिया लामो छ ।
गण्डकीका ११ जिल्लामध्ये नवलपुरबाहेक बाँकी जिल्लामा समेत काम गर्ने गरी डार्ट गनसहित वन प्राविधिकलाई तालिम माग गरेको बरालले बताए । ३ वर्षदेखि डार्ट सामग्रीसहित तालिम माग गरेपनि अहिलेसम्म वन मन्त्रालयले चासो नदिएको उनको गुनासो छ ।
उनका अनुसार वन्यजन्तुलाई सुरक्षित तरिकाले नियन्त्रण गर्न काठमाडौंको जाउलाखेलस्थित चिडियाखानालाई डार्क गन, लठ्याउने औषधि र तालिम दिन आग्रह गरिएको छ । तर, चिडियाखानाले आफूले खरिद गरेर अरु कार्यालयलाई दिन नसक्ने जवाफ दिएको बरालले बताए ।
जिल्ला वन कार्यालयहरु आफैंले डार्ट गन र लठ्याउने औषधि खरिद गर्न पाउँदैनन् । यसका लागि संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयको सहमतिमा संघीय वन मन्त्रालयले खरिद गर्नुपर्छ । वन र वन्यजन्तुसम्बन्धी गोष्ठीदेखि सबै फोरममा यसबारे कुरा उठाए पनि जिल्ला वन कार्यालयका कर्मचारीको सुरक्षाका विषयमा कसैले चासो नदिएको उनले बताए ।
चितुवा जस्ता हिस्रक वन्यजन्तु समाउन जाने कर्मचारीलाई हेलमेट, पञ्जा, बुटलगायत सुरक्षा कवच पनि अहिलेसम्म सरकारले दिएको छैन । जसका कारण बस्ती पसेका वन्यजन्तु समाउन गएका बन कर्मचारी पटक–पटक घाइते भइरहेका छन् । वन्यजन्तुको उद्धार गर्न कास्की वन कार्यालय मातहत वन्यजन्तु एम्बुलेन्स भने संचालनमा छ ।
वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेका अनुसार पहाडी क्षेत्रमा चितुवा नै सबैभन्दा हिंश्रक जनावर हो । यो क्षेत्रमा चितुवा बढेसँगै खतरा पनि बढेको उनको भनाइ छ । उनका अनुसार भानु नगरपालिकामा रहेका २२ वटा सामुदायिक वनमा गरिएको अध्यनमा पौने तीन वर्गकिलोमिटर क्षेत्रमा एउटा चितुवा देखिएको छ । जबकि एउटा जंगलमा ४० देखि ५० वर्ग किलोमिटर क्षेत्रमा एउटा चितुवा रहनु सामान्य मानिन्छ ।





