पोखरा/ स्वास्थ्य मापदण्ड मापदण्ड पालना नहुने र जोखिम नघटेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले अन्तिम समयमा आएर कक्षा १२ को परीक्षा स्थगन गरेको छ । पोखरामासमेत पछिल्लो समय प्रहरीले चेकजाँजमा कडाइ गर्न सुरु गरेको छ ।
तर, सामाजिक सेवामा क्रियाशील रहेको लायन्स क्लबले भने स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै कार्यक्रम गरेको छ । लायन्स क्लब अन्तराष्ट्रिय गण्डकी धौलागिरिले पोखरामा रहेको माउन्ट ग्लोरी फरेस्ट रिसोर्टमा ठूलो संख्यामा सदस्यहरुसहितको कार्यक्रमको आयोजना गरेको हो ।
कोभिड महामारी कायम रहेको भन्दै प्रशासनले निषेधाज्ञा केही खुकुलो बनाएपनि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गरेको छ । तर, प्रशासनको अनुमतिबेगर क्लबले सभा आयोजना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कार्यक्रमबारेमा आफुहरुलाइ कुनै जानकारी नभएको बताए । ‘जिम्मेवार संस्थानै गैर जिम्मेवारी तरिकाले काम गर्नु सुखद् कुरा होइन् । हामीलाइ कुनै पत्तो भएन,’ उनले भने, ‘उलंघन गर्नेलाई कारबाही हुन्छ । रोगबाट प्रशासन जोगिने होइन, प्रहरी जोगिने होइन ।’





