पोखरा/ पृथ्वी नारायण क्याम्पसका आइटी विद्यार्थीले परीक्षा हलमा तालाबन्दी गरेका छन् । कोरोना महामारीको समयमा समेत भौतिक रुपमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै उनीहरुले ताला लगाएका हुन् ।
आइतबार तेस्रो वर्षको परीक्षा अन्तर्गत सफ्टवेयर इन्जिनियरिङ विषयको पहिलो परीक्षा सुरु हुनै लाग्दा परीक्षा बहिस्कार गर्दै तालाबन्दी गरेका हुन् । पृथ्वीनारायण क्याम्पससहित पोखराका अन्य क्याम्पसमा समेत परीक्षा रद्द भएको छ ।
उनीहरुले एक हप्ताअघि देखि नै अनलाइन परीक्षा लिन क्याम्पसलाई आग्रह गर्दै आएका थिए । तर, त्रिभुवन विश्वविद्यालयले परीक्षा भौतिक रुपमा गर्ने गरी तयारी गरेको थियो । पोखराको पृथ्वीनारायणसहित सोच कलेज अफ आइटी र माउन्ट अन्नपूर्ण क्याम्पसमा परिक्षा रद्द भएको हो ।
पृथ्वी नारायण क्याम्पसमा परीक्षा बहिस्कार गरेका शंकर लामिछानेले अनलाइन परीक्षाको माग गर्दै परिक्षा बहिस्कार गरेको बताए । ‘हाम्रो माग भनेको अनलाइन परीक्षा गर्नुपर्छ भन्ने हो । हामी ८/९ दिन देखि आन्दोलनमा छौं,’ उनले भने, ‘महामारी पछि कलेजहरुको परीक्षा लिने शैली फेरिएको छ । विएडमा पनि अनलाइन परीक्षा भयो । हामी त झन् आइटी विद्यार्थी अनि हाम्रै हुन सकेको छैन भने अरुको के कुरा गराई भयो र ?
परीक्षा हलमा सामाजिक दूरी कायम नभएको र स्वास्थ्य मापदण्डसमेत पालना नगरेको उनले बताए । उनले कोरोनाको तेस्रो लहर चलिरहँदा परीक्षा दिन बसमा आउनुपर्ने बाध्यता भएका परिक्षार्थीहरुलाई बसबाटै संक्रमण फैलिने डर भएको बताए । ‘सिट प्लान पनि गतिलो छैन । तेस्रो लहरमा सुरक्षित भएर परीक्षा दिने वातावरण नै छैन । हाम्रो परीक्षा रद्द होस् भन्ने होइन । अनलाइन तरिकाले छिटोभन्दा छिटो परीक्षा होस् भन्ने नै हो,’ उनले भने ।
यस्तै अर्का परिक्षार्थी श्रीकृष्ण लामिछानेले पोखराका सबै आइटी परीक्षा रद्द भएको बताए । ‘हामीलाई मात्र हेरेर होइन, टियुको सिस्टमलाइ हेरेर गरेका हौं,’ उनले भने, ‘अघिल्लो पटक नै टियुले ब्याकअप सोचेर गरेको भए यसो हुने थिएन । नेपालमा मात्रै अनलाइन माध्यमबाट परीक्षा नहुने हो । विदेशमा त अघिपछि समेत अनलाइन बाटै परीक्षा हुन्छ ।’
प्रविधिक विषयकै विद्यार्थीको महामारीको समयमा प्रविधिको माध्यमबाट परिक्षा नहुनु दुखद् रहेको उनले बताए । तेस्रो लहरको कारोना चलिरहँदा भौतिक रुपमा उपस्थिति भएर परिक्षा दिन नसक्ने भन्दै परिक्षा केन्द्रमै ताला लगाउन बाध्य भएको उनले बताए ।
पृथ्वीनारायण क्याम्पसका प्रमुख सरोज कोइरालाले त्रिभुवन विश्वविद्यालयले कुनैपनि हालतमा अनलाइन परीक्षा सञ्चालन नगर्ने बताए । उनले आफूहरुसँग परीक्षाका सञ्चालनबाहेक कुनै अधिकार नभएको बताए ।
‘आज परीक्षा दिन आएका विद्यार्थीले ताला लगाएका कारण परीक्षा भएन । अनलाइन परीक्षा टियुले गर्दैन,’ प्रमुख कोइरालाले भने, ‘हामीलाई परीक्षा सार्ने वा के गर्ने भन्ने अधिकार नै हुँदैन । विद्यार्थी भौतिक रुपमा परिक्षामा उपस्थिति हुनै पर्छ ।’
विश्वविद्यालयले यसअघि पनि स्नातक तह प्रथम वर्ष र मास्टर्सका परिक्षा भौतिक रुपमै भएकाले पनि सबै परिक्षा सोहीअनुसार हुने जानकारी दिए । आगामी परिक्षा भने रद्द नहुने उनले बताए । विभिन्न क्याम्पसका गरी करिब १ सय विद्यार्थीले परिक्षा नदिएको उनले बताए ।





